बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन निजी खर्चमा सडक खनिरहेका वडाअध्यक्ष

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन निजी खर्चमा सडक खनिरहेका वडाअध्यक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदुर — बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन १० किलोमिटर घुमाउरो र कठिन बाटो प्रयोग गर्नुपर्ने अवस्था आएपछि विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्का आफ्नै खर्चमा वैकल्पिक सडकको ट्र्याक जोड्न जुटेका छ

गल्छी–त्रिशूली सडकका दुई पक्की पुल भदौ १० गतेको बाढीले बगाएपछि धादिङ हुँदै नुवाकोटका प्रभावित बस्तीमा राहत पुर्‍याउन लामो बाटो प्रयोग गर्नुपर्ने अवस्था छ ।

गल्छी–त्रिशुली सडकको दुई पक्की पुल १० भदौको बिनाशकारी बाढीले बगाएपछि राहत सामग्री लिएर जानेहरु गल्छीबाट धादिङको कल्लेरी, पिमलखोला, तारुकाघाट, बुधसिधसिङ घाट, दर्शनटार, चैनपुर, मान्द्रेढुंगा, गौरीबेसी, कालिखोला, माझीगाउँ, राइसिङ, बगुवा हात्तीगौंडा हुँदै बाढी अतिप्रावित तुप्चेको सोले बजार पुग्ने गरेका छन् ।

तर, ३ सय मिटर ट्र्याक नजोडिएका कारण विदुर नगरपालिका–१२ गौरीबेसीबाट अक्करे, सामरीखोला, बालुवाखानी हुँदै विदुर–८ को हात्तीगौंडा निस्कने छोटो सडक सञ्चालन हुन सकेको छैन ।

सोही सडक खुलाउन वडाअध्यक्ष खड्काले व्यक्तिगत खर्चमा डोजर लगाइरहेका हुन् । खन्ने मेशिन र ७ सय लिटर तेल व्यक्तिगत खर्चमा जोहो गरेर बाटो खुलाउने काम भइरहेको उनले बताए ।

उक्त सडक खुलेमा राहत सामग्री बोकेर आउनेहरूलाई करिब १० किलोमिटर घुम्नुपर्ने बाध्यता हट्नेछ । उक्त सडक करिब ३ सय मिटर ट्र्याक मात्र जोडिन बाँकी रहेकाले सञ्चालनमा आउन सकेको छैन ।

यही आवश्यकता देखेर खड्काले डोजर लगाएर सडकको बाँकी भाग खोल्न थालेका हुन् । स्थानीयवासीले पनि श्रमदान गरेर उनलाई साथ दिइरहेका छन् ।

‘अहिले टाढाटाढाबाट राहत बोकेर आउनेहरू १० किलोमिटर अप्ठ्यारो र जीर्ण बाटो घुमेर जानुपर्ने अवस्था छ । तीन सय मिटर बाटो जोड्न सकियो भने धेरै सहज हुन्छ,’ खड्काले काठमाण्डु पाटीसँग भने, ‘त्यसैले नगरपालिका वा अन्य निकायको भर नपरी तत्काल आफ्नै खर्चमा भए पनि बाटो खोल्न लागेको छु ।’ त्यसका लागि डोजरको भाडा र ७ सय लिटर डिजेल आफैं काठमाण्डु गएर ल्याएको खड्काले उल्लेख गरे ।

करिब १९ वर्षअघि ट्र्याक खोलिए पनि बीचको भाग जोडिन नसक्दा यो सडक प्रयोगमा आउन सकेको थिएन ।

पञ्चायतकालमा खनिएको गौरीबेसी–हात्तीगौंडा सडक सामरी खोलाको कटानका कारण जीर्ण भएपछि वैकल्पिक रूपमा नयाँ ट्र्याक खोलिएको थियो । भूकम्पका बेला भने यही बाटोबाट ट्याक्टरमार्फत निर्माण सामग्रीसमेत ओसारिएको थियो ।

अहिले ट्र्याक जोड्ने क्रममा वन क्षेत्रमा रुख नकाट्न चेतावनी आएको उनले बताए । जिल्ला वनका कर्मचारीले सडक खन्न रोक नलगाए पनि रुख काटिए कानुनी कारबाही हुने चेतावनी दिएको उनको भनाइ छ ।

‘रुख नकाट्न भनेकाले सडक केही साँघुरो बनाउनुपर्ने भएको छ,’ उनले भने, ‘तर रुख जोगाएरै भए पनि बाटो जोड्ने प्रयास भइरहेको छ ।’

स्थानीय समाजसेवी नवराज ढुंगानाका अनुसार टाढाबाट राहत लिएर आउने मानिसले बाटो अभावमा निकै सास्ती खेपिरहेका छन् । कतिपय राहत सामग्री बोकेर आउनेहरू रातिमा बाटोमै बास बस्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘राहत लिएर आउने मानिसहरूलाई बाटोका कारण धेरै दुःख भएको छ । कतिपयको रात बाटोमै बित्ने गरेको छ,’ ढुंगानाले भने, ‘यो छोटो बाटो खुल्यो भने प्रभावित क्षेत्रमा राहत पुर्‍याउन निकै सहज हुनेछ ।’

उक्त सडक निर्माण सम्पन्न भएपछि हात्तीगौंडा हुँदै अतिप्रभावित क्षेत्र तुप्चे र अक्करेसम्म राहत सामग्री ओसार्न तथा मानिसको आवतजावत गर्न सहज हुनेछ ।