राहत लिएर जाँदै हुनुहुन्छ ? आश्रम डुबेर बिचल्लीमा परेका ज्येष्ठ नागरिकलाई सम्झिनुस्

राहत लिएर जाँदै हुनुहुन्छ ? आश्रम डुबेर बिचल्लीमा परेका ज्येष्ठ नागरिकलाई सम्झिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट– गत १० भदौमा त्रिशूलीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित ज्येष्ठ नागरिक आश्रमसमेत अछुतो रहेन ।

आश्रमभित्र बाढी पस्दा ६ जनाको मृत्यु भयो । तीमध्ये एक जनाको मात्र शव फेला परेको छ । गम्भीर घाइते ५ जनाको काठमाण्डुस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उपचारपछि निको भएका सात जनालाई काठमाण्डु म्हेपीस्थित सामुदायिक पुनःस्र्थापना केन्द्रमा राखिएको छ । आश्रमको पहिलो तला लेदोले पुरिएको छ ।

बाढीले आश्रममा ठूलो क्षति पुर्‍याएपछि विस्थापित भएका ज्येष्ठ नागरिक अहिले आधारभूत आवश्यकताकै अभावमा छन् ।

आश्रममा रहेका १६ जनालाई बाढीपछि केही दिन नजिकै रहेको आयुर्वेदिक औषधालयको होल्डिङ सेन्टरमा राखिएको थियो । त्यहाँ बस्न असहज भएपछि उनीहरूलाई अहिले इनारपाटीस्थित राधाकृष्ण मन्दिरमा सारिएको छ ।

विस्थापित ज्येष्ठ नागरिकलाई अहिले बस्ने ठाउँसँगै औषधि र खाना पकाउने ग्यासको अभाव भएको आश्रम कार्यसमिति सदस्य शिव अधिकारीले काठमाण्डु पाटीलाई बताए । दाल र चामल पर्याप्त भए पनि ग्यास नहुँदा खाना पकाउन समस्या भएको उनको भनाइ छ ।

आश्रममा नियमित औषधि सेवन गर्नुपर्ने ज्येष्ठ नागरिक छन् । केहीलाई नियमित अक्सिजनसमेत आवश्यक पर्ने अधिकारीले बताए ।

‘दाल, चामल पर्याप्त छ । तर ग्यासको अभावमा खाना पकाउन असहज भइरहेको छ,’ अधिकारीले भने, ‘नियमित औषधि सेवन गरिरहेकाहरू हुनुहुन्छ । कसैलाई नियमित अक्सिजन चाहिन्छ ।’