रसुवा-नुवाकोटबाट फर्किएपछि गगन थापाः बेपत्तालाई १२ वर्ष मृत घोषणा गर्न नमिल्ने कानून फेरौं

रसुवा-नुवाकोटबाट फर्किएपछि गगन थापाः बेपत्तालाई १२ वर्ष मृत घोषणा गर्न नमिल्ने कानून फेरौं


काठमाण्डु– काँग्रेस सभापति गगनकुमार थापाले बिनाशकारी भोटेकोशी बाढीमा बेपत्ता भएकाको परिवारलाई कानुनी जटिलताबाट मुक्त गर्न स्थानीय तहलाई मृत्यु प्रमाणित गर्ने अधिकार दिनुपर्ने बताएका छन् ।

आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले बाढी प्रभावित नुवाकोट र रसुवाको स्थलगत निरीक्षणका क्रममा बेपत्ता परिवारले भोगिरहेको समस्या गम्भीर रहेको बताए ।

मुलुकी देवानी संहितामा रहेको व्यवस्थाअनुसार १२ वर्षसम्म बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न नसकिने भएकाले अहिलेका प्रभावित परिवारलाई थप समस्या पर्न सक्ने उनको चिन्ता थियो ।

यस्तो व्यवस्थाका कारण बेपत्ता व्यक्तिको मृत्यु संस्कार गर्न तथा मृतकका नाममा प्राप्त हुने सरकारी सुविधा र अधिकार उपभोग गर्नसमेत समस्या हुने थापाले उल्लेख गरे ।

उनले तत्काल कानुनी व्यवस्था संशोधन गरी स्थानीय सरकारले मृत्यु प्रमाणित गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

बाढीबाट प्रभावित क्षेत्रको अवस्था निकै गम्भीर रहेको उल्लेख गर्दै थापाले भोटेकोशीको घटना सामान्य विपद् नभई महाविपत्ति भएको बताए ।

‘यो साधारण विपद् मात्र नभएर महाविपत्ति हो । हामी अन्तिम माइलसम्म पुगेर पीडित नागरिकको साथमा रहन्छौं’, उनले भने, ‘हामीले गर्न सक्ने मात्र होइन, अतिरिक्त शक्ति लगाएर भए पनि गर्नुपर्ने जति सबै काम गर्नेछौं ।’

प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणसँगै पीडित नागरिकलाई भावनात्मक सहयोगको पनि आवश्यकता रहेको थापाले औंल्याए ।

‘अहिले प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माण त चाहिन्छ नै, तर त्योभन्दा बढी नागरिकलाई करुणा र समानुभूतिको खाँचो छ,’ सभापति थापाले भने ।

नुवाकोट र रसुवाका अति प्रभावित क्षेत्रको भ्रमणपछि आफूले त्यहाँको अवस्था अत्यन्तै हृदयविदारक पाएको थापाले बैठकमा बताएका थिए ।