काठमाण्डु– परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक र अन्य सहयोग आउने क्रम जारी रहेको जनाएको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको दैनिक विवरणअनुसार विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाबाट राहत तथा सहयोग प्राप्त भइरहेको छ भने थप सहयोगका लागि पनि आग्रह गरिएको छ ।
मन्त्रालयका अनुसार भारत, चीन, संयुक्त अरब इमिरेट्स, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, मलेसियालगायत देशले नेपाललाई सहयोग गरेका छन् ।
यस्तै, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघ तथा त्यसका विभिन्न निकायबाट समेत सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकनले ठूलो पुनर्निर्माण आवश्यकता देखाएको र नेपालले अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर सहयोग र ऐक्यबद्धताको अपेक्षा गरेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले विपद्को क्षति र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन अन्तर्राष्ट्रिय साझेदारसँग समन्वय गरिरहेको जनाएको छ ।
सरकारले गरेको प्रारम्भिक अध्ययनमा बाढीबाट करिब ७ हजार ५७० घर प्रभावित भएका छन् ।
४८ सरकारी कार्यालय, ५५ किलोमिटर सडक, ३७ मोटरेबल पुल र ६८ झोलुंगे पुलमा क्षति पुगेको विवरणमा उल्लेख छ ।
यस्तै करिब १ हजार ८०६ हेक्टर कृषि भूमि, १३ जलविद्युत आयोजना, एउटा सौर्य ऊर्जा आयोजना र दुईवटा प्रसारण लाइनमा क्षति पुगेको छ । बाढीका कारण ७८३ मेगावाट विद्युत् उत्पादन क्षमतामा असर परेको प्रारम्भिक मूल्यांकन छ ।
क्षतिको वास्तविक अवस्था र पुनर्निर्माणका लागि आवश्यक लागत यकिन गर्न सरकारले विपद्पछिको विस्तृत आवश्यकता मूल्यांकन पनि अघि बढाएको छ ।
मन्त्रालयका अनुसार खोज तथा उद्धारमा पनि अन्तर्राष्ट्रिय सहयोग जारी छ । भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोली नेपाली सेनासँगको समन्वयमा प्रभावित क्षेत्रमा परिचालित छन् ।
मलेसियाबाट नौवटा उच्च क्षमताका ड्रोनसहित ११ सदस्यीय विशेष विपद् सहायता तथा उद्धार टोलीसमेत नेपाल आएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार बाढीपछि हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम १२औँ दिन पनि जारी छ ।




प्रतिक्रिया