बालेनलाई गगनको सुझावः सचिवालयको भर नपर्नुस्, विज्ञसँग परामर्श गर्नुस्

बालेनलाई गगनको सुझावः सचिवालयको भर नपर्नुस्, विज्ञसँग परामर्श गर्नुस्


काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई विदेश भ्रमणको तयारी गर्दा आफ्नै सचिवालयको भर नपरी विज्ञ र अनुसन्धानकर्तासँग परामर्श गर्न सुझाव दिएका छन् ।

आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालका विषय प्रभावकारी ढंगले उठाउन पर्याप्त अध्ययन र तयारी गरेर जान प्रधानमन्त्री साहलाई आग्रह गरे ।

प्रधानमन्त्रीको भ्रमणलाई औपचारिकता वा ‘ग्रान्ड शो’ मा सीमित नगरी देशका मुद्दा स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उनको जोड थियो ।

थापाले विश्वविद्यालयका अनुसन्धानकर्ता, सम्बन्धित क्षेत्रका विज्ञ तथा देशभित्र र बाहिर रहेका दक्ष जनशक्तिसँग छलफल गरेर भ्रमणको तयारी गर्न बालेनालाई सुझाए ।

विशेषगरी जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा तथ्य र वैज्ञानिक प्रमाणसहित प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीलाई नेपालले भोगिरहेको जलवायुजन्य प्रकोपका रुपमा स्थापित गर्न र क्षतिपूर्ति भराउने प्रमाणका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष लैजान सकिने थापाले उल्लेख गरे ।

जलवायु परिवर्तनमा नगण्ड योगदान रहेको र नेपालले न्यून मात्रामा हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको असरबाट ठूलो क्षति व्यहोर्नुपरेको विषय वैज्ञानिक अध्ययन र प्रमाणका आधारमा उठाउनुपर्ने उनले स्पष्छट गरे ।

‘हामीले वर्षौंदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ,’ थापाले भने, ‘नेपालले हानि र नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ ।’

थापाले यसअघिका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र पहलहरूको समेत अध्ययन गरेर अहिलेको तयारी अघि बढाउन सुझाव दिए ।

विगतमा उठाइएको ‘हिमालदेखि महासागरसम्म’ को विषय तथा कोप–२८ मा अघि सारिएको जलवायु न्यायको पहललाई समेत निरन्तरता दिनुपर्ने उनको माग छ ।

नेपालका मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी बनाउन विदेश भ्रमणअघि पर्याप्त तयारी आवश्यक रहेको थापाले बताए ।

देशभित्र तथा विदेशमा रहेका विज्ञ र दक्ष जनशक्तिको ज्ञान उपयोग गरेर तथ्यमा आधारित प्रस्तुति तयार गर्न सके प्रधानमन्त्रीको भ्रमणबाट ठोस उपलब्धि हासिल गर्न सकिने विश्वास थापाले व्यक्त गरे ।