बाढी र पहिरोले देशभरका विभिन्न सडक प्रभावित (सूचीसहित)

बाढी र पहिरोले देशभरका विभिन्न सडक प्रभावित (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

बाढी र पहिरोले उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरोध भएका छन् भने केही ठाउँमा एकतर्फी सुचारु वा समय तोकेर मात्र सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।

धादिङको पृथ्वी राजमार्गमा पहिरोका कारण आवागमनमा पूर्णरुपमा अवरुद्ध छ । बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र गजुरी गाउँपालिका–२ स्थित चालीसेमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

गजुरीकै परेवाभिर र बेनीघाट रोराङको ज्वाङखोलामा भने एकतर्फी रूपमा मात्र यातायात चलिरहेको छ । काठमाण्डुको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा खसेको पहिरोले काठमाण्डु–धादिङ सडक एकतर्फी मात्र खुला छ ।

यस्तै काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै १० टन सम्मका मालवाहक सवारीसाधन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र चलाउन दिइएको छ । अन्य सवारीसाधनको हकमा परिस्थितिको विचार गरी बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको छ ।

यसैगरी रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड बाढीले पूर्ण रूपमा बन्द गराएको छ । उक्त सडकको अवरोध खुल्न लामो समयसम्म रहने प्रहरीले जनाएको छ । रसुवाकै मुख्य राजमार्ग पनि बाढीका कारण पूर्ण रूपमा ठप्प छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमले गर्दा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै, पासाङ ल्हामु राजमार्गअन्तर्गत नुवाकोटको बेत्रावतीस्थित सिमटारमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि पहिरोले आवागमन रोकेको छ । लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका–३ भालखोरमा खसेको पहिरोले सहिद राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

कर्णाली प्रदेशमा भने चारवटा मुख्य सडक खण्ड ठप्प छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चास्थित मुगु–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला र खाँडाचक्र नगरपालिकाको वडा नम्बर ७ र ८ स्थित रातो पहाडमा खसेको पहिरोले कर्णाली राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ ।

यसैगरी सुर्खेतको बराहताल–७ औलिसेस्थित कर्णाली राजमार्ग र सल्यानको कपुरकोट–४ आरीडंगाले फेदीमा खसेको पहिरोले राप्ती राजमार्ग पूर्ण रूपमा बन्द छ ।