काठमाण्डु– अष्ट्रेलियाले बिनाशकारी बाढीको पीडामा रहेको नेपालको साथमा आफू रहेको भन्दै एक्लो महसुस नगर्न भनेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाली समुदायप्रति ऐक्यबद्धता जनाएका हुन् ।
नेपालले बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा सोमबार राष्ट्रिय शोक मनाइरहेका बेला अल्बानिजले नेपाली समुदायलाई विपत्तिको पीडा सामना गर्न एक्लो नभएको सन्देश दिएका हुन् ।
अस्ट्रेलियाली संसद्को प्रतिनिधिसभामा नेपाल र तिब्बतमा गएको विनाशकारी बाढीबारे वक्तव्य दिँदै उनले भने, ‘नेपाल राष्ट्रिय शोकमा रहेका बेला नेपालीहरूलाई म भन्न चाहन्छु, यो दुःखमा तपाईंहरू एक्लै हुनुहुन्न ।’
बाढीमा परी ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र उद्धार तथा खोजी जारी रहेको अवस्थामा अस्ट्रेलियाले आपत्कालीन जनशक्ति परिचालन गरेको जानकारी उनले संसदलाई गराए ।
बाढीमा अस्ट्रेलियाका नागरिकसमेत बेपत्ता भएपछि उनीहरूको खोजी तीव्र पार्न परिवारहरूले अस्ट्रेलियाली सरकारमाथि दबाब दिइरहेको भन्दै उनले अस्ट्रेलियाले नेपालमा खोज तथा उद्धारका लागि विशेष जनशक्ति पठाएको बताए ।
सम्बोधनका क्रममा उनले गत शुक्रबारै नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई टेलिफोन गरी अस्ट्रेलियाका तर्फबाट समवेदना प्रकट गरिएको जानकारी दिए ।




प्रतिक्रिया