काठमाण्डु– भोटेकोशी–त्रिशूली बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनाहरुका सुरुङमा फसेकाहरुको खोजी तथा उद्धार अभियान तत्काल नरोकिने नेपाली सेनाले स्पष्ट गरेको छ ।
सुरुङभित्रको अवस्था सामान्य बनाएर ‘ब्रेक थ्रु’ नभएसम्म उद्धार टोली परिचालन भइरहने सेनाका सहायक रथी सुवाशजंग थापाले बता ए। सरकारबाट औपचारिक रूपमा अभियान रोक्न निर्देशन आएमा मात्रै खोजी कार्य रोकिने उनको भनाइ छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले बाढी प्रभावित आयोजनाहरूमा फसेका व्यक्तिको संख्या करिब १ सय २१ हुन सक्ने जानकारी दिए ।
उनका अनुसार रसुवागढी जलविद्युत आयोजनामा उद्धारकर्मी र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगिसकेको छ । त्यहाँबाट सम्भावित स्थानहरूमा खोजी भइरहेको छ ।
‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ उनले भने, ‘जबसम्म सबै टनेल ‘ब्रेक थ्रु’ हुँदैन, त्यस बेलासम्म हामी खोजी तथा उद्धारको काम जारी राख्छौं ।’
त्रिशूली–३ ‘ए’ को पावरहाउस र सुरुङमा पनि आवश्यक उद्धार उपकरणसहित सेनाको टोली परिचालन गरिएको छ । टोलीले सुरुङभित्रको अवस्था हेर्दै खोजीलाई निरन्तरता दिइरहेको थापाले बताए ।
त्रिशूली–३ ‘बी’ मा भने अडिट–२ बाट सुरुङभित्र प्रवेश गरेर अडिट–१ हुँदै बाहिर निस्कने अवस्था बनेको छ । अब अडिट–२ बाट एक्साभेटरलगायत ठूला उपकरण भित्र लैजान सकिने गरी पहुँचमार्ग तयार गर्ने काम भइरहेको सेनाले जनाएको छ ।
चिलिमे जलविद्युत आयोजनामा विदेशी प्राविधिकसमेत सहभागी रहेको संयुक्त टोलीले उपकरणको प्रयोग गरेर सुरुङमा थुप्रिएको लेदो हटाइरहेको छ । माथिल्लो त्रिशूली–१ मा पनि विदेशी प्राविधिकसहितको टोलीले खोजी कार्य अघि बढाइरहेको थापाले जानकारी दिए ।
सेनाको प्रारम्भिक आकलनअनुसार बाढीसँगै सुरुङमा पसेको लेदोको बहाव अत्यन्त तीव्र थियो । बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको वेगमा खसेको हुन सक्ने अनुमान गरिएको सहायक रथी थापाले बताए ।
तीव्र बहावका कारण आयोजनाका सुरुङ तथा आसपासका संरचनामा ठूलो क्षति पुगेको र उद्धारका क्रममा सुरुङभित्र जमेको लेदो तथा अन्य अवरोध हटाउन चुनौती भइरहेको सेनाले उल्लेख गरेको छ ।




प्रतिक्रिया