जेन-जी आन्दोलनको एक वर्ष पूरा

जेन-जी आन्दोलनको एक वर्ष पूरा

आज जेन-जी सहिद दिवस, देशभर सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पहिलो जेन जी सहिद दिवस मंगलबार मनाइँदै छ।

जेन जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ।

गत भदौ २३ गतेको जेन जी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

गत वर्ष आजकै दिन परिवर्तनको आकांक्षा बोकेका हजारौं युवा सडकमा उत्रिएका थिए। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन केही समयमै सरकारको कार्यशैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरको असमानताविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भएको थियो।

ती घटनालाई सम्झिँदै विभिन्न कार्यक्रममार्फत आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ। सरकारले पनि आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्मानमा सार्वजनिक बिदा दिएको छ।

जेन जी आन्दोलनले नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता र उनीहरूको अपेक्षालाई स्पष्ट रूपमा सतहमा ल्याएको थियो। यस दिनलाई त्यस आन्दोलनमा ज्यान गुमाएका युवाको स्मरणसँगै उनीहरूले खोजेको परिवर्तनप्रतिको प्रतिबद्धता दोहोर्‍याउने अवसरका रूपमा हेरिएको छ।