काठमाण्डु– त्रिशुली–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुआतदेखि नै उद्धार र राहतमा सक्रिय रहेकी बागमती प्रदेशसभा सदस्य राधिका तामाङ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकबाट सामाजिक सञ्जालमा व्यक्तिगत जीवन र चरित्र हत्या हुने गरी आरोप लागेपछि तनाबमा छिन् ।
अमेरिकामा बस्दै आएका एक रास्वपा समर्थकले सामाजिक सञ्जालमा तामाङको निजी जीवनसँग सम्बन्धित विभिन्न आरोपसहित पोस्ट गरेपछि उनी ‘साइबर बुलिङ’ को शिकार भएकी हुन् ।
तामाङको श्रीमानसँगको सम्बन्ध खटपटपूर्ण रहेको, उनकै कारण श्रीमान् डिप्रेसनको शिकार भएको तथा परपुरुषसँग सम्बन्ध रहेको जस्ता आरोप लगाइएको छ ।
बाढीले गृहजिल्ला नुवाकोट र रसुवामा ठूलो जनधनको क्षति पुर्याएपछि तामाङ प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतमा खटिँदै आएकी छन् । उनको निर्वाचन क्षेत्र बाढीबाट प्रत्यक्ष प्रभावित होइन ।
यद्यपि जनप्रतिनिधिको रुपमा मानवीय सेवा भावले तामाङ प्रभावित क्षेत्रमा सक्रिय रहेको उनको सामाजिक सञ्जालका पोष्टहरुबाट पनि बुझ्न सकिन्छ ।
प्रभावित क्षेत्रका लागि राहत र उद्धारसम्बन्धी बैठकमा सहभागी भएको देखि राहत वितरण, वैकल्पिक सडक सञ्चालन तथा पीडितलाई प्रत्यक्ष रुपमा भेटेर सान्त्वना दिइरहेको दृश्य तथा विवरण उनले सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गर्दै आएकी छन् ।
प्रमुख जिल्ला अधिकारीको समन्वयमा बसेको जनप्रतिनिधिहरूको बैठकमा तामाङले संकलित राहत सामग्री विदुरमा थुप्रिएको र प्रभावित क्षेत्रका नागरिक राहतको पर्खाइमा रहेकोे भन्दै त्यसलाई यथाशीघ्र प्रभावित बस्तीमा पुर्याउनुपर्नेमा जोड दिएकी थिइन् ।
प्रभावित क्षेत्रमा राहत सामग्री लैजान तथा आवतजावत सहज तुल्याउन वैकल्पिक मार्ग खुलाउने विषयलाई पनि राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
सोही विषयलाई लिएर सरकारको आलोचना गरेको भन्दै उनीमाथि साइबर हमला भएको हो । ‘मैले बैठकमा राहत सामग्री तत्काल प्रभावितसम्म पुर्याउनुपर्ने र वैकल्पिक मार्ग खोल्नुपर्ने विषय उठाएको थिएँ’, उनले काठमाण्डु पाटीसँग भनिन्, ‘त्यसैलाई सरकारको विरोध गरेको भन्दै मेरो चरित्रमा औंला उठाउने काम भयो ।’
पीडितको उद्धार र राहतमा खटिइरहेकै बेला आफ्नो निजी जीवन र चरित्रमाथि प्रश्न उठाउने गरी सामग्री सार्वजनिक भएको विषयमा उनले कानूी उपचार खोज्ने तयारी गरेकी छन् ।
उनले बुधबार आफू उजुरी लिएर प्रहरीको साइबर ब्युरो जाने बताइन् ।
‘मंगलबार सार्वजनिक बिदा छ, बुधबार साइबर ब्युरोमा जान्छु’, उनले भनिन् । तामाङ २०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी (केन्द्र) बाट नुवाकोट–१ (क) बाट निर्वाचित भएकी हुन् । संविधानसभा सदस्यसमेत रहेकी उनी पूर्वकृषि राज्यमन्त्री हुन् । यसअघि उनी बागमती प्रदेशसभा सदस्यसमेत थिइन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बाढीपीडितको चरित्रमाथि प्रश्न उठाउने तथा सामाजिक सञ्जालमा अश्लील र अमर्यादित सामग्री पोस्ट नगर्न आग्रह गरेका थिए । त्यस्तो गतिविधि गर्नेमाथि सरकार कठोर हुने चेतावनीसमेत उनले दिएका थिए । प्रधानमन्त्री बालेनले त्यस्ता गतिविधि गर्नेहरुलाई अपराधिको संज्ञा दिएका थिए ।
रास्वपाका सभापति रवि लामिछानेसहित पार्टी नेता तथा सांसदहरूले पनि सामाजिक सञ्जालमा अश्लील गालीगलौज र अमर्यादित टिप्पणी नगर्न आफ्ना समर्थक तथा कार्यकर्तालाई पटकपटक आग्रह गर्दै आएका छन् ।
तर, यस्ता आग्रहका बाबजुद रास्वपा समर्थक तथा कार्यकर्ताको ठूलो समूहले सामाजिक सञ्जालमा व्यक्तिगत आक्रमण र अमर्यादित टिप्पणी गर्ने क्रमलाई निरन्तरता दिएको छ ।




प्रतिक्रिया