काठमाण्डु– ‘ठीक १ बज्यो । अपहरणको पनि १ वर्ष पुग्यो ।’ राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवालयमा कार्यरत पत्रकार खिला कार्कीले बुधबार बिहान फेसबुकमा लेखेको यो छोटो स्टाटसले गत वर्षको जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे नयाँ प्रश्न उठाएको छ ।
कार्की राष्ट्रपति पौडेलको प्रेस विज्ञको टिममा छन् । राष्ट्रपतिका निकट विश्वासपात्र कार्कीले आफूहरूलाई कसले र कुन परिस्थितिमा अपहरण गरेको थियो भन्नेबारे खुलाएका छैनन् ।
तर, उनले जेनजी आन्दोलनको पहिलो वार्षिकीको दिन ‘अपहरणको पनि १ वर्ष पुगेको’ उल्लेख गर्नुलाई अर्थपूर्ण मानिएको छ । २३ र २४ को घटना हुँदा कार्की राष्ट्रपतिसँगै शीतलनिवासमा भएकाले पनि उनले लेखेको विषय थप अर्थपूर्ण छ ।
गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजी नव युवाले काठमाण्डुको नयाँ बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ प्रदर्शनकारीको मृत्यु भएको थियो ।
त्यसको भोलिपल्ट प्रदर्शनकारीको मृत्युको विरोधमा राजधानीसहित देशका विभिन्न ठाउँमा उग्र हिंसात्मक प्रदर्शन भए ।
त्यसक्रममा संघीय संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतलगायतका सरकारी संरचनामा आगजनी र तोडफोड भयो । राष्ट्रपति कार्यालय रहेको शीतलनिवासको बाहिरी भागसमेत आगजनी भएको थियो ।
राजनीतिक दलका नेताका निवास, स्थापित व्यवसायिक प्रतिष्ठान र सञ्चार गृहहरूमा समेत आगजनी भएको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री केपी ओली पदबाट राजीनामा दिएर हेलिकोप्टरमार्फत बालुवाटारबाट बाहिरिएका थिए ।
त्यसपछि भने राष्ट्रपति पौडेलले राजनीतिक निकासका लागि विभिन्न पक्षसँग समन्वय गरेका थिए । उनले राजनीतिक दलका शीर्ष नेता, राजीनामा दिएर कामचलाउ बनेका प्रधानमन्त्री ओली, कानुनविद् तथा नेपाली सेनाका अधिकारीहरूसँग सम्भावित निकासका लागि एक्लाएक्लै र सामूहिक छलफल गरेका थिए ।
जेनजी आन्दोलनकारीका मागअनुसार प्रतिनिधि सभा विघटन भयो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । सोही सरकारले आगामी २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन गरायो ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ सिट जित्यो । अहिले सो दलका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री छन् ।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका बेला राष्ट्रपति पौडेलले आफूले संविधान, मुलुक र राजनीतिक प्रणाली जोगाउन ‘जुक्ति’ लगाएको बताउँदै आएका छन् ।
तर, राष्ट्रपतिको प्रेस हेर्ने जिम्मेवारीमा रहेका सचिवालय सदस्यले गरेको पोष्टले राष्ट्रपति कार्यालयसँग सम्बन्धित व्यक्तिहरूले भोगेको कुनै छुट्टै घटनाको संकेत गरेको छ ।




प्रतिक्रिया