आईजिपी खनालद्धारा नेपाल एपीएफ अस्पतालको आइसीयु ब्लक र ब्लड बैंक उदघाटन

आईजिपी खनालद्धारा नेपाल एपीएफ अस्पतालको आइसीयु ब्लक र ब्लड बैंक उदघाटन


काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पताल परिषरमा नवनिर्मीत आईसीयु ब्लक तथा ब्लड बैंकको बुधबार उद्घाटन गरेका छन्। सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले बलम्वुमा नवनिर्मीत एमटी वर्कशप भवन र वयर हाउसको समेत उद्घाटन गरे।

त्यसैअवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले सो अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिन्। 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा नेपाल एपीएफ अस्पतालमा थप भएको आईसीयु वार्ड तथा ब्लड बैंकको सुविधाबाट गम्भिर रोग लागेका बिरामीहरुले त्यस खालका उपचारको लागि अन्यत्र धाउनुपर्ने बाध्यताबाट छुटकारा पाउनुकोसाथै यसै अस्पतालमा सो सुविधा प्राप्तगरी स्वास्थ्य लाभ गर्ने विश्वास व्यक्त गर्दै संगठन सकल दर्जाका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको कल्याणकारी सेवा सुविधामा चिन्तनशिल रहेको बताए।

उनले घाइते तथा उपचाररत अवस्थामा रगतको अभाव कसैले पनि झेल्नु नपरोस भनी सो अस्पताल परिषरमा हालै ब्लड बैंकको स्थापना गरिएको उल्लेख गर्दै अस्पतालले संचालनको छोटो समयमै आईसीयु तथा ब्लड बैंक लगायतका स्वास्थ्य उपचार सम्बन्धी सेवा सुविधा प्रदान गरी ठूलो फड्को मार्न सफल हुनुमा संगठनका पूर्वज नेतृत्व वर्ग तथा अस्पतालमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेको बताए।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले एमटी वर्कशप तथा वयर हाउसको निर्माणबाट व्यवस्थित भण्डारण तथा समुचित वितरणमा सहजता आई संगठनका काममा चुस्तता आउने विश्वास व्यक्त गर्दै मर्मत सम्हार गर्नुपर्ने सवारी साधन, कम्प्युटर तथा संचार साधन आदिको समयमै मर्मत गरी बन्दोबस्तीलाई मजबुद बनाई राष्ट्र र नागरिकको सेवा, सुरक्षा र उद्वारमा परिणाममुखी कार्यसम्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल एपीएफ अस्पताल संचालक समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले संगठनले लिएको कार्यदिशा प्राप्त गर्नेतर्फ सबै तह र तप्काका सशस्त्र प्रहरी कर्मचारीहरु सामुहिक रुपमा एकजुट भई लाग्नुपर्ने चर्चा गर्दै भावी पुस्ताका लागि के योगदान दिनसक्छौ भनि चिन्तनशिल भई निरन्तर रुपमा कार्यक्षेत्रमा लागिरहनु पर्ने बताए।

उनले संगठनका सम्पूर्ण सकल दर्जाका कर्मचारीहरुको वृत्तिविकास लगायत सेवा सुविधामा विभिन्न योजनाकासाथ संगठनको नेतृत्व वर्ग अगाडी बढिरहेको बताए।

कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक हरिशचन्द्र अधिकारीले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५३ पीन्ट रगत संकलन भएको छ ।

२०६२ साल चैत्र ७ गतेदेखि संचालनमा आएको नेपाल एपीएफ अस्पतालले हाल एक सय १० सैय्यासहित मेडिसिन, सर्जरी, हार्डजोर्नी तथा नसा, एनेस्थेसिया, मानसिक तथा स्नायु, आँखा रोग, चर्म तथा यौन रोग, स्त्री तथा प्रसुति, इएनटी, रेडियोलोजी, प्याथोलोजी, दन्त रोग, बाल रोग, विशेषज्ञ सेवासहितको इमर्जेन्सी, ओ.पी.डी. सेवा, महामारी प्रकोप उद्वार तथा डटस र भीसिटी सेवाहरु प्रदान गरिरहेको छ।