चिलिमे सुरुङमा फसेकाको उद्धारमा आशा जगाउने संकेत देखियो, अब करिब १०० मिटर मात्र पुग्न बाँकी

चिलिमे सुरुङमा फसेकाको उद्धारमा आशा जगाउने संकेत देखियो, अब करिब १०० मिटर मात्र पुग्न बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारका क्रममा आशा जगाउने संकेतहरू देखिएको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उक्त विद्युतगृहमा फसेका कर्मचारीको उद्धारका क्रममा आशा जगाउने संकेतहरू देखिएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा चिलिमे जलविद्युत कम्पनीको पूर्वप्रबन्ध–निर्देशक पनि रहेका घिसिङले विद्युतगृह सञ्चालनको आफ्नो अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको जनाएका छन् ।

उनका अनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र रूपमा भइरहेको छ। उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको उनले जानकारी दिएका छन्।

सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा त्यसको इको सुनिएको र सोही स्थानबाट चिसो हावा समेत आइरहेको घिसिङले जनाएकान छन् ।

यसले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशालाई बल पुगेको उनको भनाइ छ। विद्युतगृह पुग्न करिब १०० मिटर मात्र बाँकी रहेको जानकारी उद्धार टोलीबाट प्राप्त भएको पनि उनले बताएका छन् ।

‘उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ। सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। त्यहाँबाट चिसो हावा समेत आइरहेकोले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको छ,’ घिसिङले लेखेका छन् ।

उनका अनुसार अब विद्युतगृह पुग्न करिब १०० मिटर बाँकी रहेको छ । ‘यो अवस्थामा प्रत्येक मिटरको प्रगति र प्रत्येक संकेतले हामी सबैमा नयाँ आशा जगाएको छ’, उनको भनाइ छ ।

त्यसैगरी, स्याफ्रुवेसीतर्फबाट स्काभेटरमार्फत सुरुङसम्म पुग्ने बाटो निर्माणको काम पनि तीव्र रूपमा अघि बढिरहेको पनि उनले जानकारी दिएका छन्। सुरुङसम्म स्काभेटर पुग्ने सम्भावना रहेको र स्काभेटर तथा लोडर पुगेपछि उद्धार कार्य थप तीव्र हुने अपेक्षा गरिएको उनले बताएका छन् ।