काठमाण्डु- सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन्। कांग्रेस महामन्त्री प्रदीप पौडेल र नेता नैनसिंह महरले प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप भएको भन्दै सरकारको आलोचना गरेका हुन्।
कांग्रेस महामन्त्री पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरेर पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्।
उनले सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजी गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको उल्लेख गरेका छन्।
‘कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने स्थापित कानुनी बाटाहरू खुला छन्। यस्ता संवैधानिक र कानुनी प्रक्रियालाई लत्याउँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारहरूलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत छ,’ पौडेलले भनेका छन्।
उनले प्रश्न सोधेकै आधारमा पत्रकारलाई हतकडी लगाउने प्रयासले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउने टिप्पणी गरेका छन्।
पौडेलले सरकारलाई आफ्नो कदम तत्काल सच्याउन चेतावनी दिँदै पक्राउ गरिएका पत्रकारलाई अविलम्ब ससम्मान रिहा गर्न माग गरेका छन्।
सञ्चारगृहहरूमाथिको अनावश्यक हस्तक्षेप र निगरानी बन्द गरी कानुनी प्रक्रियामार्फत घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने उनको माग छ।
‘आफ्ना कमजोरी छोप्न मिडिया तर्साउने प्रयास तत्काल रोकियोस्,’ उनले लेखेका छन्।
उनले यसअघि पनि सञ्चारगृहअगाडि गाडी तेर्स्याएर आतंकित बनाउने प्रयास भएको स्मरण गराउँदै त्यही प्रवृत्ति अहिले राज्यसंयन्त्रबाटै दोहोरिनु झनै अस्वीकार्य भएको बताएका छन्।
नैनसिंह महरको पनि आपत्ति
कांग्रेस नेता नैनसिंह महरले पनि सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
महरले नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी र नयाँ पत्रिका दैनिकको कार्यालयबाट पत्रकार नवराज मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाएका हुन्।
उनले अन्य पत्रकारको समेत खोजी भइरहेको जानकारी आएको उल्लेख गर्दै प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास लोकतन्त्रको बर्खिलाप भएको बताएका छन्।
महरले राज्यद्वारा सञ्चालित दमन र हुर्मत लिने कार्यले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्ने भन्दै यस्ता गतिविधिको निन्दा गरेका छन्।
लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान हुनुपर्ने उनको भनाइ छ।
पत्रकारिता क्षेत्रमाथि हुने हस्तक्षेपले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने भन्दै उनले पत्रकारले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
प्रधानमन्त्री कार्यालयको हस्तक्षेप
शुक्रबार नेपाल प्रेसका संवाददाता विश्वमणि सुवेदीलाई समाचार कक्षबाटै प्रहरीले पक्राउ गरेको थियो। त्यस्तै, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई अनामनगरस्थित कार्यालयबाट नियन्त्रणमा लिइएको थियो।
नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई लैजान पाँच जना सादा पोशाकका प्रहरी कार्यालय पुगेका थिए।
दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई पनि उजुरी परेको भन्दै फोन गरिएको थियो। नेपाल प्रेसका अध्यक्ष बिन्दुराज लम्साललाई समेत साइबर ब्युरोले कार्यालयमा उपस्थित हुन फोन गरेको थियो।
यी घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गर्दै पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएको थियो। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि पक्राउ परेका पत्रकारलाई रिहा गर्ने र सञ्चारगृह पुगेका प्रहरी टोली फर्किने तयारी भएको बताइएको थियो।
प्रहरी महानिरीक्षकको सचिवालयले यसअघि कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार र टिप्पणीप्रति आपत्ति जनाउँदै अपुष्ट सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको थियो।


प्रतिक्रिया