काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार लेखेकै आधारमा पत्रकारलाई सञ्चारगृहबाटै नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने प्रहरी गतिविधिप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिन गर्न र गैरकानुनी रूपमा नियन्त्रणमा लिइएकालाई बिनासर्त रिहा गर्न माग गरेको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले वक्तव्य जारी गर्दै पत्रकारमाथिको धरपकडले स्वतन्त्र प्रेस र लोकतान्त्रिक संस्थाहरूको गरिमामाथि प्रहार गरेको बताएका छन्।
‘लोकतन्त्रको प्राण र सौन्दर्य भनेकै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्थाहरू हुन्, जसमा नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगत्को भूमिका सदैव अग्रपङ्क्तिमा रहन्छ,’ खरेलले वक्तव्यमा भनेका छन्।
उनले कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने गतिविधि लोकतान्त्रिक आचरणअनुकूल हुन नसक्ने बताएका छन्।
रास्वपाले प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको उल्लेख गरेको छ। पत्रकारिताको विश्वव्यापी मूल्य र मान्यताअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको व्यावसायिक अधिकार, दायित्व र पेसागत धर्म भएको पनि वक्तव्यमा उल्लेख छ।
प्रकाशित समाचारप्रति कसैको विमति वा गुनासो भए त्यसको निरूपणका लागि स्थापित कानुनी प्रक्रिया र वैधानिक निकायको बाटो अपनाउनुपर्ने रास्वपाको भनाइ छ।
‘सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत बाटोलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन हो,’ खरेलले भनेका छन्।
रास्वपाले समाचार लेखेकै आधारमा नियन्त्रणमा लिइएका र खोजी भइरहेका पत्रकारको विषयमा निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
त्यस्तै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेको छ।
रास्वपाले पत्रकारलाई कुनै पनि भय, त्रास र अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठाको पत्रकारिता निरन्तर गर्न आह्वान गर्दै सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाएको छ।
‘सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा हाम्रो अडान सधैँ सम्झौताहीन रहनेछ,’ वक्तव्यमा भनिएको छ।
पत्रकार विश्वमणि सुवेदी प्रहरीको निर्देशनपछि रिहा भएको जानकारी नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेलले दिएका छन्। तर अन्य पत्रकारमाथिको धरपकड र खोजीबारे रास्वपाले सरकारसँग स्पष्ट जवाफ मागेको छ।


प्रतिक्रिया