कांग्रेस महाधिवेशनको खर्च नगरबाट निकाल्न खोजेको आरोप, प्रमुख प्रशासकीय अधिकृतले छाडे भोजपुर

कांग्रेस महाधिवेशनको खर्च नगरबाट निकाल्न खोजेको आरोप, प्रमुख प्रशासकीय अधिकृतले छाडे भोजपुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर- नेपाली कांग्रेसको जिल्ला अधिवेशन र १५औँ महाधिवेशनमा लागेको खर्च भोजपुर नगरपालिकाबाट भुक्तानी गराउन खोजिएको विषयले विवाद चर्किएको छ।

भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले पार्टीको अधिवेशनमा आफू र आफ्नो समूहका कार्यकर्ताका लागि भएको खर्च भन्दै २४ लाख रुपैयाँको बिल पेस गरेपछि प्रमुख प्रशासकीय अधिकृत विवेक घिमिरेसँग विवाद भएको छ।

बिल भुक्तानी गर्न अस्वीकार गरेपछि मेयर आलेसहितका व्यक्तिले प्रमुख प्रशासकीय अधिकृत घिमिरेमाथि गालीगलौज, दुर्व्यवहार र धम्की दिएको आरोप लागेको छ। घटनापछि घिमिरेले भोजपुर छाडेका छन्। उनी अहिले काठमाडौंमा बसेर सिंहदरबार धाइरहेका छन्।

विवादको केन्द्रमा कांग्रेसको जिल्ला अधिवेशन र काठमाडौंमा असोज १८ देखि भएको पार्टीको १५औँ महाधिवेशनमा लागेको खर्च रहेको बताइएको छ। मेयर आलेले भोजपुरमा भएको जिल्ला अधिवेशनदेखि काठमाडौंमा भएको केन्द्रीय महाधिवेशनसम्म आफ्नो समूहका कार्यकर्ताको होटल, खानपिन र पेट्रोल खर्चसमेत नगरपालिकाबाट मिलाउन खोजेको आरोप लागेको छ।

त्यसका लागि ४२ लाख रुपैयाँ छुट्याइएको र त्यसैमध्ये २४ लाख रुपैयाँ बराबरको होटल, खानपिन तथा पेट्रोल खर्चको बिल प्रमुख प्रशासकीय अधिकृत घिमिरेसमक्ष पेस गरिएको स्रोतको दाबी छ। तर पार्टीको आन्तरिक अधिवेशनमा भएको खर्च नगरपालिकाको बजेटबाट भुक्तानी गर्न नमिल्ने भन्दै घिमिरेले बिल स्वीकृत गर्न अस्वीकार गरेका थिए।

त्यसपछि विवाद बढेको र घिमिरेमाथि दुर्व्यवहार भएको स्रोतको भनाइ छ। उनलाई ‘मोसो दल्ने, जुत्ताको माला लगाउने र कुटपिट गर्ने’ धम्कीसमेत दिइएको दाबी गरिएको छ।

असोज २६ को घटनापछि नगर छाडे घिमिरेले

नगरपालिकाभित्रको विवाद असोज २६ गते उत्कर्षमा पुगेको बताइएको छ। उक्त दिन प्रमुख प्रशासकीय अधिकृत घिमिरेमाथि हातपातको प्रयास भएको आरोप छ। त्यसपछि उनी असोज ३१ गते भोजपुर छाडेर काठमाडौं आएका थिए।

स्रोतका अनुसार घिमिरेले आफ्नो सुरक्षामा जोखिम देखेपछि नगर छाडेका हुन्। दशैं बिदा सकिएपछि पनि उनी कार्यालय फर्किएका छैनन्। अहिले उनी काठमाडौंमै रहेर आफूले अस्वीकार गरेको बिल र नगरपालिकामा भएको घटनाबारे सिंहदरबारमा सुनाइरहेका छन्।

शुक्रबार काठमाण्डुपाटीले सम्पर्क गर्दा घिमिरेले आफू सिंहदरबारमै रहेको बताए। तर घटनाबारे थप कुरा गर्न चाहेनन्। स्रोतका अनुसार उनले पार्टी अधिवेशनको खर्च भन्दै आफूलाई पेस गरिएको बिलसमेत सिंहदरबारमा बुझाएका छन्।

यता मेयर आलेले भने आफूलाई तत्काल अर्को प्रमुख प्रशासकीय अधिकृत आवश्यक परेको भन्दै संघीय सरकारसँग आग्रह गरिरहेका छन्। घिमिरे एमालेनिकट भएकाले उनीसँग काम गर्न नसकिने आशय व्यक्त गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत मागिरहेको स्रोतको दाबी छ।

मेयर आलेको खण्डन : व्यक्तिगत प्रतिशोध र भ्रामक प्रचार

विवाद सार्वजनिक भएपछि मेयर आलेले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका छन्। उनले भोजपुर नगरपालिकाका विषयमा सामाजिक सञ्जालमा भइरहेको प्रचारमा सत्यता नरहेको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘भोजपुर नगरपालिकाको विषयमा भ्रामक कुराहरूलाई लिएर सामाजिक सञ्जालमा गरिएको गलत प्रचारप्रसारमा सत्यता नभएको र व्यक्तिगत प्रतिशोध राखी आगामी पार्टीको जिल्ला अधिवेशनलाई लक्षित गरी गरिएको नकारात्मक टिप्पणी मात्र हो।’

उनले अपुष्ट र भ्रामक कुरामा विश्वास नगर्न पनि आग्रह गरेका छन्। तर पार्टी अधिवेशनमा भएको खर्चको बिल नगरपालिकाबाट भुक्तानी गराउन खोजिएको हो वा होइन, २४ लाख रुपैयाँको बिल के प्रयोजनका लागि पेस गरिएको थियो र प्रमुख प्रशासकीय अधिकृतसँग विवाद किन भयो भन्नेबारे उनले विस्तृत स्पष्टीकरण दिएका छैनन्।

नगरपालिकाको ४० लाखको बिलबारे सार्वजनिक प्रश्न

मेयर आलेले सामाजिक सञ्जालमा दिएको प्रतिक्रियापछि भोजपुर नगरपालिका–४ का युवा तिलक खड्काले पनि खर्चको विषयमा सार्वजनिक स्पष्टीकरण मागेका छन्।

उनले नगरपालिकाको ४० लाख रुपैयाँको बिल के हो र त्यसको प्रयोजन के हो भन्ने स्पष्ट पार्न मेयर आलेसँग माग गरेका छन्। पार्टी अधिवेशनमा कार्यकर्ताको होटलमा खानपिन गराएको र मोटरसाइकलमा तेल हालिदिएको खर्च नगरपालिकाबाट भुक्तानी गर्न खोजिएको हो भने त्यो स्वीकार्य नहुने उनको भनाइ छ।

खड्काले नगरपालिकाको विकासका लागि आएको बजेट व्यक्तिगत वा पार्टीगत प्रयोजनमा खर्च गर्न नमिल्ने भन्दै यसअघि पनि नगरपालिकामा भएको भनिएको भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउँदै आएको बताएका छन्।

उनले भनेका छन्, ‘निजी गाडी भाडामा राखेर पैसा असुलेर नगरको विकासमा आएको बजेट हिनामिना गरेको एउटा जनप्रतिनिधि भएर पार्टीको अधिवेशनमा कार्यकर्तालाई होटलमा खानपिन गराएको, कार्यकर्ताको मोटरसाइकलमा तेल हाल्दिएको बिलको भुक्तानी चालिस लाख जति फेरि नगरपालिकाबाट लिनु खोज्नु ठीक हो ? के यो देशमा कानुन छैन ?’

उनले मेयर आलेलाई आरोप र प्रत्यारोपभन्दा बाहिर आएर खर्चको विवरण सार्वजनिक गर्न चुनौती दिएका छन्।

कोल्ड स्टोरको अवस्था र अख्तियारका मुद्दामाथि पनि प्रश्न

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका भोजपुर जिल्ला नेता दिनेश पाण्डेले भोजपुर बजारमा निर्माण गरिएको कोल्ड स्टोरको दयनीय अवस्थाको तस्बिर सार्वजनिक गर्दै स्थानीय सरकारसँग जवाफ मागेका छन्।

उनले जनताको करबाट निर्माण भएका संरचना किन सञ्चालनमा आउन सकेनन् भन्दै प्रश्न गरेका छन्। पाँच वर्षसम्म प्रयोगमा नआएको संरचना आवश्यक नै थिएन भने त्यसमा जनताको कर किन खर्च गरियो भन्ने उनको प्रश्न छ।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृत घिमिरेमाथि असोज २६ गते भएको भनिएको घटनाबारे नगरपालिकाले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएका छन्।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नगरपालिकासम्बन्धी २३ वटा मुद्दा विचाराधीन रहेको भन्ने कुरा सत्य भए त्यसको विवरण सार्वजनिक गर्न माग गरेका छन्।

साथै, अख्तियारको अनुसन्धानमा रहेका फाइलको आधिकारिक अवस्था, प्रमुख प्रशासकीय अधिकृतमाथि भएको भनिएको हातपात प्रयास र पार्टी अधिवेशनको खर्चसम्बन्धी विवादबारे नगरपालिकाले लिखित जवाफ दिनुपर्ने बताएका छन्।

‘गरिब जनताले तिरेको करबाट चलेको नगरपालिकाले सत्य लुकाउन मिल्दैन,’ उनको भनाइ छ। पाण्डेले जनताको करमाथि अहंकार होइन, जवाफदेहिता देखाउन मेयर आलेलाई आग्रह गरेका छन्।

सार्वजनिक जवाफदेहिताको प्रश्न

भोजपुर नगरपालिकाका मेयर आले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। पार्टीको अधिवेशन वा महाधिवेशनमा लागेको खर्च पार्टी, उम्मेदवार वा सम्बन्धित समूहले व्यहोर्नुपर्ने विषय हो।

त्यसलाई स्थानीय सरकारको बजेटबाट भुक्तानी गराउन खोजिएको हो भने त्यसको कानुनी आधार र खर्चको प्रयोजन सार्वजनिक हुनुपर्ने आवाज अहिले उठिरहेको छ।