काठमाण्डु – शिक्षा क्षेत्रलाई थप व्यावहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसस्तरमै पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव संकलन गरिरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् ।
पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत मधेश प्रदेशमा सुझाव संकलनका क्रममा भएको एक घटनाबारे स्पष्टीकरण दिँदै २ जना व्यक्तिले आएर हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिनुपरेको बताएका हुन् ।
उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० जनाभन्दा बढी सरोकारवालाको सहभागिता थियो । उनले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि प्रत्यक्ष रूपमा विद्यार्थी, शिक्षक र अभिभावकसँग संवाद भइरहेको बताए । आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गरी ‘बूक फ्री फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नवीन अवधारणा समेट्ने विषयमा पनि सुझाव लिइरहेको उनले बताए ।
सिरहा र सप्तरीको अन्तरक्रियामा धेरैभन्दा धेरै सरोकारवालाको आवाज सुन्ने प्रयास भइरहेका बेला २ जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले कार्यक्रमस्थलबाट बाहिरिएको उनको भनाइ छ ।
पोखरेलले घटनाको १ मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बंग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको दाबी गरेका छन् । लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने उनले बताए ।
कुनै भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने बताउँदै पोखरेलले घटनापछि पनि सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको जानकारी दिएका छन् ।
उनका अनुसार सोही दिन करिब ८–१० वटा विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकबाट फलदायी रूपमा सुझाव संकलन गरिएको छ । टोली सप्तरी हुँदै मोरङतर्फ जाने उनले बताए ।
मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका सकारात्मक काम देखेर असन्तुष्टि हुनु स्वाभाविक हुनसक्ने उल्लेख गर्दै पोखरेलले त्यसका आधारमा भ्रम फैलाउनुभन्दा आफूहरूले गरिरहेको कामलाई जनताले आफैँ मूल्यांकन गर्न दिनुपर्ने बताए ।
उनले आफूहरू राजनीतिक स्टन्ट वा हल्ला गर्न नभई ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएको दाबी गरेका छन् । ‘हल्लाभन्दा काम ठूलो हो’ भन्ने धारणा राख्दै उनले आफ्नो काम र नियतको मूल्यांकन जनताले स्वयं गर्ने बताए ।




प्रतिक्रिया