साइबर बुलिङ रोक्न एक भए सबै दलका महिला सांसद्, संकल्प प्रस्ताव दर्ता

साइबर बुलिङ रोक्न एक भए सबै दलका महिला सांसद्, संकल्प प्रस्ताव दर्ता


काठमाण्डु– संविधानले महिलाको सम्मानपूर्वक बाँच्न पाउने हकदेखि बालबालिकाको सुरक्षासम्मका अधिकार सुनिश्चित गरे पनि बलात्कार, यौन हिंसा र साइबर हिंसाका घटना नरोकिएको भन्दै सरकारलाई थप जिम्मेवार बनाउन संसद्मा संकल्प प्रस्ताव दर्ता भएको छ ।

प्रतिनिधिसभा सचिववालयमा दर्ता भएको संकल्प प्रस्तावको प्रस्तावक एमाले सचेतक निता घतानी छिन् ।

प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की श्रद्धा कुँवर क्षेत्री, कांग्रेसकी रेनुका काउचा, नेकपाकी बलावती शर्मा र पार्वती विक, राप्रपाकी खुश्बु ओली तथा श्रम संस्कृति पार्टीकी अम्बिकादेवी संग्रौला समर्थक छन् ।

प्रस्तावमा संवैधानिक अधिकार र त्यसको व्यवहारिक कार्यान्वयनबीच ठूलो अन्तर रहेको औँल्याइएको छ । संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको तथा धारा १७ मा स्वतन्त्रताको हक, धारा १८ मा समानताको हक, धारा ३८ मा महिलाको हक र धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरेको प्रस्तावमा उल्लेख छ ।

संवैधानिक व्यवस्थाका बाबजुद महिला तथा बालिकामाथि बलात्कार, जबर्जस्ती करणी, यौन हिंसा र हत्याका घटना निरन्तर सार्वजनिक भइरहनु गम्भीर विषय भएको प्रस्तावमा उल्लेख छ ।

विशेष गरी बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक र शारीरिक अवस्थासँगै भविष्यमा समेत दीर्घकालीन असर पार्ने प्रस्तावमा जनाइएको छ ।

त्यसैगरी प्रविधिको विस्तारसँगै साइबर बुलिङ र चरित्रहत्याजस्ता अपराध बढ्दै गएको र यसले महिलाको प्रतिष्ठा तथा गोपनीयतामाथि गम्भीर असर पारिरहेको सांसदहरूको निष्कर्ष छ ।

‘महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधजस्ता घटना निरन्तर वृद्धि भइरहनु गम्भीर चिन्ताको विषय हो’, प्रस्तावमा भनिएको छ, ‘बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरुको मानसिक, शारीरिक र भविष्यमा दीर्घकालीन असर गरिरहेको छ । अर्कोतर्फ डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ, चरित्र हत्याजस्ता नयाँ प्रकृतिका अपराधले महिलाको सम्मान र गोपनियतामा गम्भीर आघात पु-याएका छन् ।’