झापा- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य भएको दाबी गर्ने एक युवकलाई झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले सरकारी गाडी उपलब्ध गराएको खुलासा भएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रवणकुमार पोखरेलले प्रधानमन्त्रीको सचिवालयमा रहेको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता भएको दाबी गर्ने झापा हल्दिबारीका २६ वर्षीय सुजन विश्वकर्मालाई सरकारी कार्यालय अनुगमनका लागि भन्दै गाडी उपलब्ध गराएका थिए ।
प्रजिअ पोखरेललाई बालेन सरकारले गत १८ भदौमा झापाको सिडिओको जिम्मेवारी दिएर पठाएको थियो । प्रहरीले गतिविधि शंकास्पद लागेपछि उनीमाथि अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा विश्वकर्मा बालेनको सचिवालयमा नरहेको र रास्वपा नेता पनि नभएको खुलेपछि प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नुअघि उनी सरकारी गाडी चढेर आफ्नै गाउँपालिका हल्दीबारीको अनुगमनमा गएका थिए ।
विश्वकर्मा आफू प्रधानमन्त्री बालेनको निकट व्यक्ति र रास्वपा केन्द्रीय सदस्य भएको परिचय दिँदै जिल्लाका विभिन्न सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संघसंस्थामा पुगेर धम्कीपूर्ण शैलीमा प्रस्तुत हुने गरेका थिए ।
सरकारी गाडीमा कार्यालयहरूमा पुग्ने क्रममा उनले कर्मचारी तथा पदाधिकारीमाथि अनुचित कार्यका लागि दबाब दिने गरेको प्रहरीको भनाइ छ ।
सरकारी गाडीमा इन्धनसमेत प्रयोग गरेर विश्वकर्माले विभिन्न कार्यालयको अनुगमन गरेको विषयमा अहिले अनुसन्धान भइरहेको छ ।
तर, प्रजिअ पोखरेलले उनलाई कुन आधारमा सरकारी गाडी उपलब्ध गराए भन्नेबारे भने अनुसन्धान भएको छैन ।
झापा प्रहरीको हिरासतमा रहेका उनलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ ।
विश्वकर्मा पक्राउ प्रकरणले सत्तारुढ दलको व्यक्ति भनेकै आधारमा सरकारी संयन्त्रले सुविधा उपलब्ध गराउने डरलाग्दो अभ्यास देखिएको छ ।
कुनै व्यक्तिले प्रधानमन्त्रीको सचिवालय वा सत्तारुढ दलसँग आफ्नो सम्बन्ध रहेको दाबी गरेकै आधारमा सरकारी गाडी उपलब्ध गराइनु दृष्टिले गम्भीर विषय भएको प्रशासनविदहरु बताउँछन् ।
पछिल्लो समय प्रधानमन्त्रीको सचिवालय, रास्वपाको नेता समर्थक वा जेनजी अभियानीका नाममा सरकारी कार्यालयमा पुग्ने र काममा दबाब दिने प्रवृत्ति बढेको छ ।
झापा प्रहरीका निरीक्षक मुन्नाकुमार अधिकारीले सरकारी गाडी दुरुपयोगको विषयमा छानबिन भइरहेको बताए ।
अधिकारीका अनुसार विश्वकर्मालाई धम्की दिएर अनुचित लाभ लिएको भए उजुरी दिन भनिएको जानकारी दिए ।




प्रतिक्रिया