काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् बदनकुमार भण्डारीले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै सरकारको आलोचना गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै भण्डारीले पछिल्लो एक महिनामै चामल, दाल, खानेतेल, चिनी र अण्डालगायतका अत्यावश्यक वस्तुको मूल्य आकासिँदा सम्बन्धित मन्त्रालय र सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे ।
सरकार बजार नियन्त्रणमा सरकार असफल भएको आरोप उनले लगाए ।
उनका अनुसार एक महिनाअघि २५ किलोको जिरा मसिनो चामल २ हजार २ सय रुपैयाँबाट बढेर २ हजार ६ सय र २० किलोको लङ्ग्रेन चामल ३ हजार २ सयबाट ३ हजार ६ सय रुपैयाँ पुगेको बताए ।
‘ग्यासको अभाव र लाइन त छँदैछ । पछिल्लो एक महिनाको अवधिमा जिरा मसिनो चालम २५ केजीको रु २२ सयबाट २६ सय पुगेको छ । लङ्ग्रेन २० केजीको ३२ सयबाट ३६ सय पुगेको छ । मासको दाल एक केजीको १ सय ४० बाट २ सय पुगेको छ । रहरको दाल १ केजीको १ सय ९० बाट २ सय १० पुगेको छ । तेल सन्फ्लावर प्रतिलिटर २ सय ८० बाट ३ सय १० पुगेको छ । भटमासको तेल २ सय ७० बाट ३ सय पुगेको छ । त्यो सँगसँगै चिनी १ सय ४० कटिसकेको छ । अण्डा प्रतिक्रेट ६ सय ५ पुगेको छ । अनियन्त्रतित ढंगबाट मूल्य वृद्धि भएको छ’, उनले भने ।
उनले मूल्यवृद्धिको कारण पहिचान गरी नियन्त्रणका लागि सरकारले के योजना बनाएको छ भन्ने स्पष्ट पार्न माग गरे ।
बजारमा मूल्य बढिरहँदा सम्बन्धित मन्त्रालय र सरकारी निकायले अनुगमन तथा नियमन प्रभावकारी बनाउन नसकेको उनको आरोप थियो ।
उनले तत्काल बजार अनुगमन तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराए ।
मूल्य नियन्त्रणका लागि संघीय सरकारसँगै स्थानीय तहले समेत बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उनको माग छ ।
‘मूल्यवृद्धि नियन्त्रणको निम्ति सरकार, स्थानीय निकायलगायतले अनुगमन गरी मूल्य नियन्त्रण गर्न जोडदार माग गर्दछु,’ भण्डारीले भने ।




प्रतिक्रिया