प्रधानमन्त्री बालेनको घोषणा मितिभित्रै कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा

प्रधानमन्त्री बालेनको घोषणा मितिभित्रै कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संघीय संसद्मा सम्बोधनका क्रममा घोषणा गरेको मितिभित्रै पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा भएको छ ।

प्रधानमन्त्री बालेनले रसुवा भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा भदौ १७ गते प्रतिनिधि सभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताएका थिए ।

प्रधानमन्त्री बालेनको सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा सडक खण्डमा भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ । यसका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निरन्तर खटिएका थिए ।

भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुर्‍याएको थियो भने भदौ १४ गते आएको अर्को बाढीले पर्खाल भत्काएपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको थियो ।

त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्लिकल सोसाइटीका प्राविधिकहरूको सहयोगमा ४ दिनसम्म द्रूत अध्ययन गरेको थियो । विज्ञहरूले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए । विज्ञहरूबाट प्राप्त सुझावका अनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरिएको थियो । त्यसपछि ३५ मिटर उचाइ र २० मिटरभित्रसम्म पहाड खनेर ट्रयाक निर्माण गरिएको हो ।

यस काममा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२–१६ घण्टासम्म काम गरिरहेका छन् । फलस्वरूप काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारीसाधन सञ्चालन भइसकेको छ । त्यसयता बिहान र बेलुका अत्यावश्यक यातायात आवतजावत भइरहेको छ ।

हाल सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । बुधबारसम्म ग्राभेलको काम पूरा हुनेछ भने असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ ।