काठमाण्डु – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ ३० गते जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ ।
त्यसअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछन् ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिनेछ । निर्वाचन समितिले ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकेको र उनीहरू सम्बन्धित जिल्ला कार्यसमितिसँग समन्वय गरी निर्वाचन प्रक्रियामा सक्रिय रहेको जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई पुन: आग्रह गरेको छ ।
समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा निर्वाचन प्रक्रियालाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाउन सबै तहका पार्टी संरचना र क्रियाशील सदस्यको सहभागिताका लागि आग्रह गरिएको छ ।





प्रतिक्रिया