श्रममन्त्री यादवसँग मलेसियाका कार्यबाहक राजदूत अजमानको भेटवार्ता

श्रममन्त्री यादवसँग मलेसियाका कार्यबाहक राजदूत अजमानको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत महामहिम मोहम्मद फिरदौस अजमानले मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा मन्त्री यादवले मलेसियाको एफडब्लुसीएमएसमा नेपालका केही इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको जानकारी गराउँदै संस्थाहरू सूचीकृत मूल्यांकन प्रणाली तथा मापदण्ड नेपाल सरकारलाई आधिकारिक रूपमा उपलब्ध गराउन अनुरोध गरेका छन् ।

मन्त्री यादवले वैदेशिक रोजगार व्यवसायमा प्रतिस्पर्धा संकुचित हुने, सीमित संस्था वा समूहको नियन्त्रण कायम हुने कुनै पनि व्यवस्था कानुनी प्रावधान विपरीत र द्विपक्षीय श्रम सम्झौता विपरीत हुने विषय नेपाल सरकारलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

सबै इजाजत पत्र प्राप्त संस्थाका लागि समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित हुनुपर्ने स्पष्ट धारणा उनले राखे । केही सूचीकृत इजाजतपत्र प्राप्त संस्थाहरूले आफूहरू एफडब्लुसीएमएस प्रणालीबाट बाहिरिने इच्छा राखेको विषय समेत जानकारी गराएका छन् ।

उनले यस विषय समाधानका लागि जतिसक्दो चाँडो द्विपक्षीय कूटनीतिक परामर्श र नेपाल सरकारको प्रयासमा सहजीकरण गरी मलेसिया सरकारसँग आवश्यक समन्वयको लागि पहल गर्न पनि कार्यबाहक राजदूतलाई अनुरोध गरेका छन् ।