काठमाण्डु – इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राखेको छ ।
भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै सञ्चालक समितिको निर्णयअनुसार भदौ ३१ गतेदेखि लागू हुने गरी साविकको मूल्य नै कायम राखिएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको छ । भदौ ३० गते आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको थियो ।
सञ्चालक समितिको निर्णयपछि अब पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ नै कायम रहनेछ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाण्डु, पोखरा र दिपायल पर्छन् ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर वृद्धि भइरहँदा पनि खुद्रा बिक्री मूल्य समायोजन नगरिँदा निगमलाई पाक्षिक रूपमा १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने देखिएको जनाइएको छ ।




प्रतिक्रिया