काठमाण्डु- रास्वपाका सांसद यज्ञमणि न्यौपानेले सरकारले महत्वपूर्ण कूटनीतिक नियोगमा राजदूत नियुक्त गर्न ढिलाइ गरेको भन्दै तत्काल नियुक्ति गर्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै न्यौपानेले राजदूतको कुर्सी खाली राखेर मुलुकको कूटनीति बलियो हुन नसक्ने बताएका हुन्।
‘राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो हुँदैन’ उनले भने ‘जनताले झन्डै दुई तिहाइको जनादेश दिएर पठाएका छन् र अझै दिने आशामा छन्। हामी सांसदले पार्टी र सरकारलाई विश्वास गरेर साथ दिएकै छौँ। योग्यता भएका नागरिक पनि प्रशस्तै छन्। आखिर के ले रोक्यो, सरकार ? ‘
प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेको सन्दर्भ उल्लेख गर्दै सांसद न्यौपानेले रिक्त रहेका कूटनीतिक नियोगलाई नेतृत्वविहीन नराख्न सरकारको ध्यानाकर्षण गराए ।
‘प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिका जाँदै हुनुहुन्छ। तर विडम्वना अमेरिकामा नेपालको राजदूत हुनुहुन्न। अविलम्ब राजदूत नियुक्त गरियोस्। रिक्त रहेका कूटनीतिक नियोगलाई नेतृत्वविहीन नराखियोस्। परराष्ट्र नीतिलाई कर्मचारीको भरमा मात्र नछाडियोस्।’ उनले भने ।




प्रतिक्रिया