कांग्रेस सांसद राईको प्रश्न : विपद् आउनुअघि के गरियो ?

कांग्रेस सांसद राईको प्रश्न : विपद् आउनुअघि के गरियो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद निष्कल राईले प्राकृतिक विपद्को व्यवस्थापन, सरकारको कार्यशैली, सुशासन, कानुनी शासनबारे सरकारलाई प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि राज्यको उपस्थिति पीडित नागरिकले कहिले महसूस गर्ने भनेर सोधेका छन् ।

विपद्को समयमा राज्य कहाँ हुन्छ र राज्य उपस्थित भएको अनुभूति पीडित नागरिकले कहिले गर्ने भन्ने विषय गम्भीर रहेको उनले बताए । राईले विपद्को प्रारम्भिक अवस्थामा प्रधानमन्त्रीको नेतृत्व र सरकारको प्रभावकारी हस्तक्षेप पर्याप्त नदेखिएको आरोप लगाए ।

उद्धार र राहत वितरणमा देखिएको अस्तव्यस्ततालाई व्यवस्थित गर्न सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए । विपद् व्यवस्थापनलाई उद्धार र राहतमा मात्र सीमित गर्न नहुने उनले बताए । विपद् आउनुअघि पूर्वसूचना प्रणाली, जोखिम पहिचान, स्थानीय तहसँगको पूर्वतयारी, नदी प्रणालीको निगरानी तथा उच्च जोखिममा रहेका बस्तीको व्यवस्थापनबारे समेत सरकारले जवाफ दिनुपर्ने उनले बताए ।

उनले भने, ‘विपद् आएपछि के गर्ने भन्ने मात्र होइन, विपद् आउनुअघि के गरियो भन्ने प्रश्नको उत्तर पनि सरकारले दिनुपर्छ ।’

बाढीबाट घर, जग्गा, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा विद्युत् आयोजनामा क्षति पुगेको बताउँदै उनले प्रभावित नागरिकको दीर्घकालीन पुन:स्थापनाका लागि स्पष्ट योजना आवश्यक रहेको बताए ।

सुरक्षित स्थानमा आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा अन्य पूर्वाधार पुनर्निर्माणसँगै मनोसामाजिक सहयोगको व्यवस्था गर्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेसले विपद्को सुरुवाती दिनदेखि सरकारलाई ‘अनकन्डिसनल सपोर्ट’ गरेको उल्लेख गर्दै राईले नागरिकको दु:खमा सत्तापक्ष र प्रतिपक्षको विभाजन नहुने बताए । यद्यपि सरकारलाई साथ दिँदैमा नागरिकप्रतिको जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने उनले बताए ।