काठमाण्डु – आज असोज १ गते, देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित विश्वकर्मा पूजा मनाइँदै छ ।
समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको जनविश्वास रहेकाले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ ।
आजको दिन उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र उद्यमीहरूले आ–आफ्ना मेशिनरी सामान तथा औजारहरूको सफाइ गरी विशेष पूजा गर्ने गर्दछन् । यस्तै, नयाँ सवारीसाधन खरिद गर्ने तथा भएका सवारीसाधनलाई काठमाण्डुको डौँको भद्रकाली, दक्षिणकालीलगायत देशभरका विभिन्न शक्तिपीठहरूमा लगेर पूजा गर्नेहरूको मन्दिर परिसरमा बिहानैदेखि उल्लेख्य भिड लागेको छ ।
विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकार मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको पौराणिक कथन छ । उनका अनुपम कृतिहरूमध्ये सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति निर्माण प्रमुख मानिन्छन् । कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियारसमेत उनैले निर्माण गरेको धार्मिक विश्वास छ । भगवान् विश्वकर्माको महिमा ऋग्वेदका ११ वटा ऋचामा समेत वर्णन गरिएको छ ।
द्वापरयुगमा राक्षसहरूले भगवान् कृष्णलाई दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा एकै रातमा ‘भेद द्वारका’ निर्माण गरी लुकाएको कथा पाइन्छ । प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवता मानिन्छ । उनले बनाएको ‘भेद द्वारका’ हाल भारतको गुजरात राज्यस्थित समुद्रको बीचमा अवस्थित रहेको विश्वास गरिन्छ ।
यसै विश्वासका आधारमा कार्यक्षेत्रमा सफलता, कार्यकुशलता र समृद्धि प्राप्तिका लागि आजका दिन श्रद्धापूर्वक विश्वकर्माको पूजा गरिन्छ ।




प्रतिक्रिया