काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान काठमाण्डुबाट नयाँदिल्ली प्रस्थान गेका हुन्। अर्थमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री वाग्लेले बिहीबार नै भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् ।
यस्तै पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा उनी सहभागी हुने कार्यक्रम छ । यो कार्यक्रम शुक्रबार हुनेछ । सोहीदिन मन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस। जयशंकरसँग भेटवार्ता गर्नेछन् ।
शुक्रबार नै भारत व्यापार सम्बर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा उनी सहभागी हुनेछन् ।
भारतीय उद्योग परिसंघले शनिबार आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा मन्त्री वाग्ले सहभागी हुनेछन् ।
यस्तै दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
मन्त्री वाग्लेसँगै अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, दिल्लीस्थित नेपाली राजदूतावासका उप नियोग प्रमुख डा. सुरेन्द्र थापा, दिल्लीस्गित नेपाली दूतावासका इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी, मन्त्री वाग्लेका निजी उपसचिव कञ्चन बस्नेत समेत भ्रमण टोलीमा छन् ।




प्रतिक्रिया