भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी र कामदारका परिवारको लागि प्राधिकरणको राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी र कामदारका परिवारको लागि प्राधिकरणको राहत प्याकेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालिक राहत प्याकेज घोषणा गरेको छ ।

बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाका कर्मचारी र कामदारहरू बेपत्ता छन् । प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी र कामदार बेपत्ता छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारी/कामदारहरूको आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जीवनयापन गर्नका लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए ।

उनका अनुसार राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रतिकर्मचारी/कामदार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

दोस्रोमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति वा के रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि वा भदौदेखि बढीमा ६ महिनाको लागि बेपत्ता भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह स्वरूप उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता भएका कर्मचारी र कामदारको परिवार सरकारको जिम्मेवारी भएको बताए । ‘हामी एउटै परिवार हो । यो पैसाले यत्रो ठूलो दु:खको घाउ त निको पार्दैन तर मल्हम लाउने काम गरोस्,’ उनले भने ।