निर्वाचन क्षेत्रका आलोचकको मुख थुन्न रास्वपा सांसदले दिए साइबर ब्युरोमा उजुरी

निर्वाचन क्षेत्रका आलोचकको मुख थुन्न रास्वपा सांसदले दिए साइबर ब्युरोमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जालबाट पुराना दल र सरकारलाई प्रश्न, आलोचना गरेर संसद् तथा सरकारमा पुगेको रास्वपालाई आफूमाथि गरिएको प्रश्न भने बिझाउन थालेको छ ।

सामाजिक सञ्जालको प्रयोग र प्रभावकै कारण काठमाण्डु–२ बाट निर्वाचित रास्वपाका सांसद सुनिल केसीले फेसबूकमा आफ्नो आलोचना गरेको र अफवाह फैलाएको भन्दै निर्वाचन क्षेत्रका व्यक्तिहरूविरुद्ध साइबर ब्युरोमा उजुरी गरेका हुन् ।

बाढीमा फसेका आफ्ना पतिको छिटो उद्धार गर्न हारगुहार गर्दा सामाजिक मर्यादा भुलेर मर्यादाहीन गालीगलौज र टिप्पणी गर्ने रास्वपा कार्यकर्तालाई कुनै कारबाही नहुने तर सांसद प्रश्नबाट भागेको दाबी गर्ने व्यक्तिविरुद्ध सांसद केसीले साइबार ब्युरोमा उजुरी दिएका हुन् ।

आफ्नै निर्वाचन क्षेत्रमा पर्ने शंखरापुर–१ का राम लामाले सामाजिक सञ्जालामा प्रश्न गरेको भन्दै उनीविरुद्ध उजुरी गरिएको जनप्रतिनिधि मिलन खड्काले जानकारी दिए । अरु व्यक्तिहरूविरुद्ध पनि केसीले उजुरी गरेको जानकारी ब्युरोले आफूलाई दिएको खड्काले जनाए ।

सोमबार शंखरापुर नगरपालिका–९ संकल्प नेपालले निर्माण थालेर अलपत्र छाडेको वृद्धाश्रमबारे सार्वजनिक लेखा समितिको टोलीसँगै केसी पनि स्थलगत निरीक्षणमा पुगेका थिए ।

स्थलगत अनुमगनका क्रममा केसीको शैलीलाई हुकुमी शैली लादेको भन्दै शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, ९ का वडाध्यक्ष सहदेव श्रेष्ठ, वडा सदस्य मिलन खड्का लगायतले आपत्ति जनाएका थिए ।

त्यसक्रममा चर्चाचर्की भएको खड्काले बताए । त्यहीँ विषयलाई लिएर केसीले आफूलाई भाग्यो भनेर भ्रम फैलाएको भन्दै उजुरी दिएका हुन् ।

केसीले आफ्नो आलोचना गर्ने र प्रश्न गर्नेहरूमाथि कारबाही हुनुपर्ने भन्दै बिहीबार संसद्बाट समेत आवाज उठाए । सांसदको दुरुपयोग गर्दै आफ्नै निर्वाचन क्षेत्रका आलोचकको मुख थुन्न प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ निकट मानिने सांसद केसीले प्रहरी र संसद्को दुरुपयोग गरेका छन् ।

संसद्को शून्य समयमा उनले भने, ‘निरीक्षणको मूल विषयलाई विषयान्तर गर्ने गरी सामाजिक सञ्जालको दुरुपयोग गर्दै राज्यको जिम्मेवार व्यक्तिहरूको मानमर्दन गर्ने उद्देश्यले गलत तथा भ्रामक प्रचार गर्नेमाथि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न यसै संसद्मार्फत माग गर्दछु ।’

यता रास्वपाका केही सांसदहरू भने अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आइरहेको छ । भदौ २३ गते जेनजी स्मृति दिवसका अवसरमा सञ्चारकर्मीलाई गृहमन्त्री सुधन गुरुङले धम्की दिएको विषयमा रास्वपा सचेतक क्रान्तिशिखा धितालले आपत्ति जनाएकी थिइन् ।

उनले रास्वपा अभिव्यक्ति स्वतन्त्रताको वकालत गरेर आएको भन्दै आफूहरू सच्चिनु नपर्ने अरु मात्र सच्चिनुपर्ने भन्दै प्रश्न पनि गरेकी थिइन् । बिहीबारको संसद् बैठकमै अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षा गर्ने भन्दै रास्वपाका महामन्त्रीसमेत रहेका सांसद विपीनकुमार आचार्यले संसद्मा सरकारको ध्यानाकर्षण गराएका थिए ।

रास्वाका उच्च तहका नेताहरू अभिव्यक्ति स्वतन्त्रताका वकालत गर्दै गर्दा सांसद केसी भने प्रश्न गर्ने आफ्नै मतदातविरुद्ध उत्रिएर संसद्समेत गुहारेका छन् ।