काठमाण्डु – सरकारले विभिन्न १३ देशका लागि नयाँ राजदूत सिफारिश गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री बालेन शाहले शुक्रबार बोलाएको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका नियोगहरूमा राजदूतको सिफारिस गर्न लागेको हो । । राजदूत सिफारिस गर्न प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सरकारले भारतमा निश्चलनाथ पाण्डे, अमेरिकामा चिरनजंग थापा र चीनमा अमृत राईलाई राजदूत पठाउने सम्भावना छ ।
सरकार गठन भएको ६ महिनापछि रिक्त कूटनीतिक नियोगमा राजदूत सिफारिश हुन लागेको हो । सरकारले १३ देशका लागि प्रतिस्पर्धाका आधारमा राजदूत छनोट गर्न आवेदन माग गरेको छ ।
परराष्ट्र मन्त्रालयले राजदूत पदका लागि गत जेठ १४ गते सूचना प्रकाशित गरेकोमा ४ हजार ४ सयभन्दा बढीले आवेदन दिएका थिए । तीमध्ये दोहोरो आवेदन हटाइ २५ सय जनालाई थप प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालय पठाइसकेको छ ।
सरकारले गत चैत २२ गते ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको थियो । त्यससँगै अहिलेसम्म २१ देशका नियोग तथा दूतावास राजदूतविहीन अवस्थामा छन् । भारत, चीन, अमेरिका, बेलायत, जापानसहितका छिमेकी तथा शक्ति मुलुकमा लामो समयदेखि दूतावास खाली छ ।
जेन–जी आन्दोलनपछिको चुनावी सरकारले गत वर्ष ३० असोजमा ११ देशमा कार्यरत राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री बालेन शाह नेतृत्वमा १३ चैतमा सरकार गठन भएपछि थप ६ ठाउँबाट राजदूत फिर्ता भएका छन् । यी सबै कांग्रेस, एमाले, नेकपाको भागबन्डाबाट राजदूत पठाइएको थियो ।
गत वर्ष असोजमा सुशील कार्की नेतृत्वको सरकारले बेलायतका लागि राजदूत चन्द्रकुमार घिमिरे, अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, चीनका लागि राजदूत कृष्णप्रसाद ओली, कतारका लागि राजदूत रमेशचन्द्र पौडेल, साउदी अरेबियाका नरेशविक्रम ढकाल, इजरायलका धनप्रसाद पण्डित, स्पेनका सनिल नेपाल, जर्मनीका डा. शैल रूपाखेती, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, रुसका जंगबहादुर चौहान र जापानका डा. दुर्गाबहादुर सुवेदीलाई फिर्ता गरेको थियो ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १० र त्यसअघिको सरकारले सिफारिस गरेका एकजना गरी ११ जना राजदूत फिर्ता भएका थिए ।
एमाले र कांग्रेसको भागबन्डामा नियुक्त भएका भारतका लागि डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई वर्तमान सरकारले २२ चैतमा फिर्ता बोलाएको थियो ।




प्रतिक्रिया