काठमाण्डु– अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणको दोस्रो दिन शुक्रबार नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच छलफलमा सहभागि भएका छन्।
छलफलमा भारतका पूर्व विदेश सचिव तथा नेपालका पूर्वराजदूत श्यामशरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन र पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार एवं कूटनीतिज्ञ पंकज सरन सहभागी थिए।
त्यस्तै, प्रसिद्ध अर्थशास्त्री तथा जवाहरलाल नेहरू विश्वविद्यालयका एमेरिटस प्राध्यापक एवं दिल्ली विश्वविद्यालयका पूर्वउपकुलपति दीपक नय्यर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (आईटीपीओ)का अध्यक्ष जावेद अशरफ, नेपालका पूर्वभारतीय राजदूत रणजित राय र भारतीय जनता पार्टी (भाजपा)को विदेश मामिला विभागका प्रमुख विजय चौथाइवाले पनि छलफलमा सहभागिता जनाएका थिए।

दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटीका अध्येता कोन्स्टान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयकी निर्देशक मनुस्मृति, द हिन्दुकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरलगायतको पनि छलफलमा सहभागिता थियो।
छलफलमा सहभागीहरूले दक्षिण एसियाको बदलिँदो भूराजनीतिक अवस्था, क्षेत्रीय कनेक्टिभिटी तथा नेपाल–भारत सम्बन्धसँग जोडिएका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए।

नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको उक्त छलफललाई दुई देशबीचको सम्बन्ध र क्षेत्रीय सहकार्यका विषयमा विचार आदानप्रदान गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।




प्रतिक्रिया