काठमाण्डु – अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट सृजित अवस्थाका बारेमा विश्व समुदायलाई जानकारी गराइने बताएका छन् ।
नयाँदिल्लीमा रहेका मन्त्री वाग्लेले भारतीय सञ्चारमाध्यम एएनआइसँग कुरा गर्दै नेपालमा आएको बाढी तथा पहिरो जलवायु परिवर्तनका कारण उत्पन्न भएको बताउँदै यस विपत्तिबारे विश्व समुदायलाई जानकारी गराउने नेपाल सरकारले तयारी गरिरहेको बताए ।
मन्त्री वाग्लेले कतारको दोहामा हुने एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)मा सहभागी हुने र त्यसपछि अमेरिका पुगेर न्यूयोर्क तथा वासिङ्टन डीसीमा विश्व बैंक र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग छलफल गर्ने बताए ।
उनले भने, ‘साथै अक्टोबरको मध्यतिर बैंककमा ब्रेटन वुड्स संस्थाहरूको वार्षिक बैठक हुँदैछ। त्यसमा पनि म सहभागी हुनेछु।”
उनले यी अन्तर्राष्ट्रिय भ्रमणको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण उत्पन्न तथा थप तीव्र बनेका विपत्तिबारे विश्व समुदायलाई जानकारी गराउनु रहेको बताए।
‘जलवायु परिवर्तनबाट उत्पन्न र थप तीव्र बनेको विपत्तिको कथा विश्वसामु राख्नु आवश्यक छ। यस्ता विनाशकारी घटना र तिनले पार्ने ठूलो प्रभाव नेपालमा मात्र सीमित रहने छैनन्, सम्भवतः भारतसम्म पनि यसको असर पुग्न सक्छ,’ उनले भने, ‘विश्वव्यापी तापक्रम वृद्धि व्यापक रूपमा महसुस हुँदै जाँदा यस्ता घटना अझ बढी र अझ तीव्र रूपमा दोहोरिन सक्छन्।’
मन्त्री वाग्लेले जलवायु परिवर्तनलाई विश्वव्यापी चुनौतीका रूपमा बुझ्नुपर्ने बताए। ‘हामीले यसको प्रभाव नेपालमा महसुस गरेका छौँ, तर यसको कारण र परिणाम वास्तविक रूपमा विश्वव्यापी तथा क्षेत्रीय छन्। यस विषयलाई अझ गम्भीर रूपमा बुझ्न आवश्यक छ,’ उनले भने।
अर्थमन्त्री वाग्लेका अनुसार अन्तर्राष्ट्रिय भ्रमणको अर्को उद्देश्य विपत्तिबाट प्रभावित नेपालजस्ता मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता जुटाउनु पनि हो।
प्रधानमन्त्री बालेन शाह पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने र नेपालजस्ता गरिब तथा जोखिममा रहेका मुलुकले भोगिरहेको जलवायु संकटबारे विश्वसामु धारणा राख्ने उनले बताए।
‘विश्वव्यापी तापक्रम वृद्धिमा नेपालजस्ता मुलुकको योगदान अत्यन्त न्यून छ। हाम्रो हरितगृह ग्यास उत्सर्जन पनि निकै कम छ। तर यसको परिणाम देशका गरिब तथा कमजोर समुदायले भोगिरहेका छन्,’ वाग्लेले भने।
‘यसरी हामी यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउँदै जानेछौँ र आवश्यक सहयोगसँगै अन्तर्राष्ट्रिय ऐक्यबद्धता पनि खोज्नेछौँ,’ उनले बताए।




प्रतिक्रिया