संविधान दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

संविधान दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवले शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले बहुजाति, बहुभाषी र बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको बताएका छन्। नेपालीबीचको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कसैबाट नहुने विश्वास पनि उनले व्यक्त गरेका छन्।

सन्देशमा उनले भनेका छन्, ‘नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ। संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नु पर्दछ।’

रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको अपूरणीय क्षतिले सिंगो मुलुक गहिरो पीडामा रहेको उल्लेख गर्दै उनले कठिन घडीमा बाढी प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन्।

यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै संविधानको मूल मर्मअनुसार समावेशिता, समानता, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व र साझा भविष्यप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्।

उनले नेपालको संविधान नेपाली जनताको दीर्घ संघर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर सामाजिक आन्दोलनहरूको सम्बोधन तथा संक्रमणकालीन व्यवस्थाहरूको गठनले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको छ।’