काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको अवसरमा शुभकामना दिएको छन् ।
सभापति लामिछानेले संविधान दिवसको अवसरमा शनिबार शुभकामना दिँदै संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गरेका छन् ।
‘संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक जीवनको यथार्थ बन्नुपर्छ’, उनले भनेका छन् ।
लामिछानेले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै संविधान एक जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसको अन्तर्वस्तु परिष्कृत र संशोधन हुन सक्ने बताएका छन् ।
उनले संविधानमा नै रहेको व्यवस्थाले संविधानको समीक्षा मागेको भन्दै अबको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्ने धारणा राखेका छन् ।
उनले संविधान दिवसले राजनीतिक शक्ति, राज्यका अङ्ग र आम नागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।




प्रतिक्रिया