केपी ओली ढलेका छैनन्, मैदानमा फेरि उठ्नेछन् : ओली

केपी ओली ढलेका छैनन्, मैदानमा फेरि उठ्नेछन् : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् ।

आफू लामो समयदेखि राजनीतिक आन्दोलनमा सक्रिय रहेकाले पार्टी फुटाउने प्रयास सफल नहुने उनले बताए ।
संविधान दिवसका अवसरमा पार्टी मुख्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रममा ओलीले महाभारतको प्रसंग उल्लेख गर्दै आफूविरुद्ध विभिन्न समयमा भएका प्रयासलाई राजनीतिक चुनौतीका रूपमा चित्रण गरे। ‘केपी ओली शरशय्यामा ढलेको छैन, खडा छ, फेरि पनि मैदानमा छ,’ उनले भने।

आफू एमालेभित्र १० वटा महाभारत लडेर यहाँसम्म आइपुगेको भन्दै उनले अहिलेको प्रयासबाट आफू नढल्ने बताए ।

उनले भने, ‘केपी ओली मैदानमा छ, अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए, मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ ।’

एमालेविरुद्ध पटक–पटक षड्यन्त्र र हमला भए पनि पार्टी अझ सुदृढ हुँदै अघि बढ्ने उनको भनाइ छ। एमाले देशको सबैभन्दा लोकप्रिय पार्टीका रूपमा स्थापित भएपछि त्यसलाई कमजोर बनाउन विभिन्न प्रयास भएको उनले दाबी गरे। २०७९ को निर्वाचनमा एमालेविरुद्ध धेरै राजनीतिक शक्ति एक ठाउँमा उभिएर चुनावी प्रतिस्पर्धा गरे पनि पार्टी बलियो शक्तिका रूपमा पुनः स्थापित भएको उनको भनाइ थियो।

‘पार्टी फुटाएर, फुटेर पनि पाँच सयवटा पार्टी नेपाल सिंगै हाम्रा विरुद्ध खनिँदा, दौडिँदा पनि नेकपा एमाले मजबुत शक्तिको रूपमा फेरि उठ्यो,’ ओलीले भने।

एमालेविरुद्ध अहिले पनि हमला भइरहेको भन्दै उनले पार्टीभित्र एकता मजबुत बनाउनुपर्ने बताए। एमालेको केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्र देखिएका समस्याको उपयुक्त समाधान खोजिने र पार्टीलाई अझ सुदृढ एकताको सूत्रमा बाँधेर अघि बढाइने उनले बताए।

‘केन्द्रीय कमिटीले सबै प्रकारका समस्याहरू देखिएका छन् भने तिनको पनि उपयुक्त समाधान दिने उनको भनाइ छ । ‘पार्टीलाई सुदृढ एकताको सूत्रमा बाँध्नेछ र अझ सक्रिय, अझ उच्च मनोबलका साथ पार्टी अगाडि जानेछ,’ ओलीले भने।

एमाले नेपाली जनताको वास्तविक प्रतिनिधि पार्टी भएको दाबी गर्दै कुनै पनि प्रयासबाट पार्टी समाप्त नहुने पनि ओलीले बताए। एमाले वैचारिक, राजनीतिक, आर्थिक, परराष्ट्र, सामाजिक तथा सांस्कृतिक नीतिका साथै वातावरण र मानव अधिकारका विषयमा सचेत भएर अघि बढिरहेको उनको भनाइ थियो।

एमालेभित्र कमजोरी हुन सक्ने स्वीकार गर्दै ओलीले कमजोरी पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता पार्टीसँग रहेको बताए।

उनले एमालेमा गल्ती वा कमजोरी भए त्यसलाई महसुस गर्ने र त्यसबाट पाठ सिकेर अझ अघि बढ्ने क्षमता रहेको दाबी गरे।

पार्टीमा रहेको ‘रियलाइजेसन’ र ‘रेजिलियन्स’ क्षमताले कठिन अवस्थामा पनि पुनः उठेर अघि बढ्न सक्ने बताउँदै ओलीले एमालेसँग राष्ट्रिय नीतिहरू तय गरेको र मुलुकको वर्तमान तथा भविष्यका चुनौतीबारे स्पष्ट दृष्टिकोण रहेको पनि बताए।

‘आफू अहिले पनि राजनीतिक रूपमा सक्रिय रहेको उल्लेख गर्दै ओलीले अमरसिंह थापाको प्रसंगसमेत सुनाए। ‘अमरसिंह थापा पनि ७४ वर्षमा युद्धको मैदानमा थिए भने मैले पनि अहिले भारी लामो तरबार बोक्नु परेको छैन, सानो कलम बोक्दा पुग्या छ,’ उनले भने।