अर्थमन्त्री वाग्लेको भारतीय उद्यमीलाई अपिलः नेपालमा लगानीको वातावरण छ, लगानी गर्न आइदिनुस्

अर्थमन्त्री वाग्लेको भारतीय उद्यमीलाई अपिलः नेपालमा लगानीको वातावरण छ, लगानी गर्न आइदिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीका नयाँ अवसर खोज्न र भइरहेको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् ।

‘कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री’ द्वारा नयाँ दिल्लीस्थित ‘इन्डिया ह्याबिट्याट सेन्टर’ मा आउयोजित कार्यक्रममा व्यापार तथा लगानी अन्तरक्रियामा उनले नेपालमा अहिले लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै भारतीय निजी क्षेत्रलाई आर्थिक रूपान्तरणको साझेदार बन्न आह्वान गरेका हुन् ।

नेपालमा विभिन्न क्षेत्रमा लगानीको अवसर रहेको उनको भनाइ थियो ।

उनले नेपालमा पहिलेदेखि सञ्चालनमा रहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न तथा नयाँ लगानीकर्तालाई नेपाली बजार र सम्भावनायुक्त क्षेत्रको अध्ययन गर्न आग्रह गरे ।

डिजिटल प्रविधि, स्वच्छ ऊर्जा, उच्च मूल्यका कृषि उत्पादन, वेलनेस पर्यटन तथा उत्पादनमूलक क्षेत्रलाई उनले लगानीका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरे ।

‘डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण वाहकका रूपमा उदय भइरहेका छन्,’ उनले भने, ‘भारतीय व्यवसायीहरूलाई नेपाललाई बजारको रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति श्रृंखलामा एकीकरणका लागि रणनीतिक साझेदारको रूपमा हेर्न चाहन्छौं ।’

वाग्लेले लगानीको वातावरण थप सहज बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधारलाई तीव्रता दिइरहेको बताए । सुशासन, आर्थिक समृद्धि र लगानी सहजीकरणलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

उनका अनुसार वार्षिक बजेट, कर सुधार र लगानीकर्ता–मैत्री नीतिगत पहलमार्फत व्यवसाय सञ्चालनका अवरोध हटाउने तथा निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि हासिल गर्ने प्रयास भइरहेको छ ।

नेपाल–भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धलाई लगानी तथा व्यापार विस्तारको बलियो आधारका रूपमा उल्लेख गर्दै वाग्लेले ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रलगायत क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए ।

कार्यक्रममा सहभागी भारतीय उद्योगी तथा व्यवसायीले नेपालमा व्यापार र लगानीका अवसरबारे चासो राखेका थिए । उनीहरूले नेपालको लगानी नीति, सुविधा, क्षेत्रगत सम्भावना तथा व्यवसायिक वातावरणबारे अर्थमन्त्रीसँग जानकारी लिएका थिए । ती€न दिने भ्रमणका सिलसिलामा नयाँदिल्लीमा रहेका मन्त्री वाग्ले आज स्वदेश फर्कंदैछन् ।