देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने प्रयास गरिरहेको छुः गगन थापा

देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने प्रयास गरिरहेको छुः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशन उदघाटन समारोहको प्रमुख अतिथिका रुपमा निवर्तमान सभापति शेरबहादुर देउवालाई सहभागी गराउने प्रयास भइरहेको बताएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित वडा अधिवेशनमा पुगेका थापाले आगामी १६ सोज १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा देउवाको सहभागिताका लागि आफूले पहल गरिरहेको बताए ।


कांग्रेसभित्र विभिन्न पुस्ताका नेताहरूलाई सँगसँगै लिएर अघि बढाउनुपर्नेबारे आफू स्पष्ट रहेको भनाइ उनको थियो ।

उनले देउवा आफूभन्दा उमेरले निकै अग्रज भए पनि पार्टीमा सबै पुस्ताको भूमिका आवश्यक रहेको बताए ।

‘म निवर्तमन सभापति आदरणीय नेता शेरबहादुर देउवालाई असोजको १६ गतेदेखि सुरु हुने पार्टीको अधिवेशनमा प्रमुख अतिथि बनाएर सहभागी गराउने कोसिस गरिरहेको छु,’ उनले भने, ‘त्यो उहाँले गर्नुहुन्छ भन्ने अहिले पनि विश्वास राख्छु ।’

कांग्रेसमा पाँच पुस्ताका नेता रहेको उल्लेख गर्दै थापाले पुराना र नयाँ पुस्ताबीच सहकार्य हुनुपर्ने बताए ।

‘मेरो फादरभन्दा पनि उमेरमा जेठो हुनुहुन्छ शेरबहादुर देउवा । हामी पाँच जेनेरेसनको मान्छे छौं,’ उनले भने, ‘त्यो पाँचै जेनेरेसनको मान्छेले कांग्रेसमा काम गर्न पाउनुपर्छ ।’

थापाले पार्टीभित्र हुने असहमति र फरक मतलाई स्वाभाविक रूपमा लिनुपर्ने पनि बताए । उनका अनुसार एउटै पार्टीमा रहेर विचारमाथि खुला छलफल हुनु सामान्य प्रक्रिया हो ।

‘पार्टी भनेको घर परिवारजस्तो हो । एकै ठाउँ बस्दैगर्दाखेरि खुला छलफल हुन्छ । कहिलेकँही मत फरक–फरक हुन्छ,’ उनले भने, ‘त्यो अस्वाभाविक होइन, स्वाभाविक हो ।’

विगतका गतिविधि र अभिव्यक्तिलाई लिएर विवादमा अल्झिनुभन्दा अहिलेको अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने थापाको भनाइ थियो ।

‘सबैलाई मेरो आग्रह छ, हिजो के भएको थियो, हामी हिजो कुन बेला कहाँ थियौं, कसले के बोल्यौं भन्ने कुरा सबै बिर्सिनुपर्छ,’ उनले भने, कसैले गलत मनसाय राखेर त्यो कुरा गरेका थिएनौं । हामीले आफ्नो ठाउँबाट यो ठीक होला भनेर गर्‍यौं । एक ठाउँमा आएका छौं ।’