मधेशीमाथि गोली चलाएर जारी गरिएको संविधान मान्य छैन : अध्यक्ष यादव

मधेशीमाथि गोली चलाएर जारी गरिएको संविधान मान्य छैन : अध्यक्ष यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि गोली चलाएर जारी गरिएको संविधान मान्य नभएको बताएका छन् ।

शनिबार वीरगञ्ज नगर सभा हलमा आयोजित अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधान संशोधन, परिमार्जन वा पुनर्लेखन गर्नुपर्ने बताए ।

२०७२ असोज ३ गते संविधान जारी भएकै दिन मधेशी समुदायको अधिकारका लागि भएको प्रदर्शनका क्रममा वीरगञ्जको माइस्थानमा शत्रुधन पटेलको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको घटना उनले स्मरण गरे ।

यादवले देशको आधाभन्दा बढी जनसंख्या रहेको मधेशी समुदायको अधिकार, पहिचान र प्रतिनिधित्वलाई संविधानले पर्याप्त रूपमा सम्बोधन नगरेको दाबी गरे । खसआर्य समुदायको अधिकार र पहिचानलाई केन्द्रमा राखेर संविधान जारी गरिएको आरोप लगाउँदै उनले जनसंख्याका आधारमा राज्यसत्ता, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र निर्धारणमा समेत विभेद गरिएको उनले आरोप लगाए । उनका अनुसार कतिपय क्षेत्रमा करिब ५ हजार जनसंख्यामा १ जना प्रतिनिधिसभा सदस्यको व्यवस्था भए पनि तराई–मधेशमा १ लाखभन्दा बढी जनसंख्याका लागि १ जना प्रतिनिधिसभा सदस्यको व्यवस्था गरिएको छ ।

संविधानप्रति असहमति रहे पनि मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचनमा भाग लिँदै आएको यादवले बताए । उनले नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना भ्रष्टाचारबाट बच्न मिलेर सरकार बनाएको आरोप लगाए । २ ठूला दल मिलेर सरकार बनाएपछि जनतामा पुराना राजनीतिक दलप्रति आक्रोश र वितृष्णा बढेको उनको दाबी थियो ।

कांग्रेस र एमालेप्रति बढेको जनआक्रोशको फाइदा उठाउँदै देशी–विदेशी शक्तिहरूले देशलाई दुर्दशातर्फ धकेलेको आरोप पनि यादवले लगाए । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै यादवले ‘घण्टी छाप’का नेताहरूको चरित्र पनि दोहोरो रहेको दाबी गरे । उनले जनताले उनीहरूलाई पनि कांग्रेस र एमालेका नेताहरूलाई जस्तै व्यवहार गर्ने बताए ।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न अग्रगामी मोर्चा निर्माण गरिएको बताए । मोर्चाका प्रवक्ता समेत रहेका राउतले मधेश आन्दोलन र विभिन्न संघर्षबाट प्राप्त संघीयता तथा समावेशितालाई समाप्त गर्ने प्रयास भइरहेको आरोप लगाए ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको बताए। संकट समाधानका लागि अग्रगामी शक्तिहरू एकजुट हुनुपर्ने बताए । सरकार परिवर्तन मोर्चाको मुख्य एजेन्डा नभएको भन्दै साहले देशलाई सही निकास दिनु, सुशासन कायम गर्नु र जनताका अधिकार सुनिश्चित गर्नु मोर्चाको जिम्मेवारी रहेको बताए ।