नयाँ अध्ययनले औँल्यायो-उत्तराखण्डका २३ हिमनदी तीव्र गतिमा पग्लिँदैछन्

नयाँ अध्ययनले औँल्यायो-उत्तराखण्डका २३ हिमनदी तीव्र गतिमा पग्लिँदैछन्

वैज्ञानिकहरू भन्छन्–हिमनदी पग्लिने गति यस्तै रह्यो भने प्राकृतिक विपत्तिको जोखिम बढको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्वव्यापी रूपमा बढ्दो तापक्रमले हिमालय क्षेत्रलाई प्रत्यक्ष प्रभावित गरिरहेका बेला भारतको उत्तराखण्डका हिमनदीहरू पनि जोखिममा परेका छन् ।

हालै गरिएको एक अध्ययनले उत्तराखण्डका २३ प्रमुख हिमनदी तीव्र गतिमा पग्लिरहेको देखाएको छ । जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमनदी पग्लिने गति बढेको भए पनि हिमनदीको आकार, ढलान र त्यसमा जम्मा भएको माटो तथा ढुंगाको तह अर्थात् भौगोलिक अवस्थाले पनि त्यसको पग्लिने दरमा प्रभाव पार्ने अध्ययनले देखाएको छ ।

नेपालमा १ हजार ४ सयभन्दा बढी मानिसको ज्यान जाने गरी भएको विनाशकारी बाढीलाई हिमनदी पग्लिनेसँग जोडिएको केही दिनपछि मात्रै यो अध्ययन सार्वजनिक भएको हो । पछिल्ला केही वर्षमा ठूला हिमनदीबाट बरफका ठूला टुक्रा छुट्टिएर उपत्यकातर्फ बग्ने क्रम बढेको छ । यसले बस्ती भएका क्षेत्रमा ठूलो क्षति पुर्‍याउने गरेको छ ।

यही कारण वैज्ञानिक र वातावरणविद्हरूले जोखिममा रहेका हिमालयका हिमनदीमा ध्यान केन्द्रित गर्न थालेका छन् ।

यी हिमनदीहरूले भारत मात्र नभई छिमेकी मुलुकमा समेत सिँचाइ, खानेपानी र जलविद्युत् आयोजनाका लागि पानी उपलब्ध गराउँछन् । गंगा, भागीरथी, सतलज, रावी, सिन्धु, ब्रह्मपुत्र, यमुना, अलकनन्दा र महाकालीजस्ता प्रमुख नदीको उद्गम हिमालयमै रहेको छ ।

उत्तराखण्डको भौगोलिक अवस्था नेपालको जस्तै छ । यहाँ गंगोत्री, अलकापुरी, मिलम, पिण्डारी, खतलिङ, सतोपन्थ र भागीरथीलगायत सयौँ हिमनदी छन् । पछिल्ला वर्षमा ती हिमनदी पग्लिने दर पनि तीव्र रूपमा बढेको छ र जोखिम झनै बढाएको छ ।

वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीका वैज्ञानिक ज्योति कुमारी, गिरीशचन्द्र कोठियारी, अतुलकुमार पाटीदार र मनिष मेहताले गरेको उक्त अनुसन्धान ‘डिस्कभर जियोसाइन्स’ जर्नलमा प्रकाशित भएको हो । अनुसन्धानमा २३ वटा हिमनदीको अभिलेख अध्ययन गरी प्रत्येक हिमनदी पग्लिनुको कारण पहिचान गरिएको थियो ।

उदाहरणका लागि पिथौरागढ जिल्लाको शंकुल्पा हिमनदीको सात दशकको अभिलेखअनुसार उक्त हिमनदी ५१८ मिटर पछाडि हटेको छ । यसको पग्लिने दर प्रतिवर्ष ६.८ मिटर रहेको छ ।

यस्तै उत्तरकाशीको बन्दरपुन्च हिमनदी ३९ वर्षको अभिलेख (१९६०–१९९९) अनुसार प्रतिवर्ष २५.५१ मिटरको दरले पग्लिएको देखिएको छ ।

रुद्रप्रयागको चोराबारी हिमनदी सन् १९६२ देखि २०१० सम्मको तथ्यांकअनुसार ३२७ मिटर पग्लिएको छ । यसको पग्लिने दर प्रतिवर्ष ६.८ मिटर रहेको छ भने टिहरीको खतलिङ हिमनदी प्रतिवर्ष ८८ मिटरको दरले पग्लिएको अध्ययनले देखाएको छ ।

गंगोत्री हिमनदीबारे दुईपटक अध्ययन गरिएको थियो । पहिलो अध्ययनमा ६९ वर्षको अभिलेख (१९३५–२००४) अनुसार यो प्रतिवर्ष २२.०२ मिटरको दरले पग्लिएको देखिएको थियो । दोस्रो अध्ययनको ६ वर्षको अभिलेखमा प्रतिवर्ष २१.३ मिटरको दर देखिएको छ ।

यसैगरी, उत्तरकाशीको डोक्रियानी हिमनदी प्रतिवर्ष २१ मिटर, भागीरथी हिमनदी ३.७ मिटर, चमोली जिल्लाको सतोपन्थ हिमनदी २६.४५ मिटर, टिप्रा हिमनदी १४.४१ मिटर र दुनागिरी हिमनदी प्रतिवर्ष ९ मिटरको दरले पग्लिएको अध्ययनले देखाएको छ ।

सबैभन्दा चिन्ताजनकमध्ये पिथौरागढको मिलम हिमनदी पनि रहेको छ । यो प्रतिवर्ष ३२ देखि ३७.८ मिटरको दरले पग्लिरहेको छ । नर्थ नन्दा देवी हिमनदी प्रतिवर्ष २२ मिटर र रमाणी हिमनदी ३२ मिटरको दरले पग्लिरहेको अध्ययनमा उल्लेख छ ।

पिण्डारी हिमनदीबारे पनि दुईपटक अध्ययन गरिएको थियो । पहिलो अध्ययनमा १२१ वर्षको अभिलेख (१८४५–१९६६) अनुसार हिमनदी २ हजार ८४० मिटर पछाडि हटेको र प्रतिवर्ष २३.४ मिटरको दरले पग्लिएको देखिएको थियो । दोस्रो अध्ययनको १८ वर्षको अभिलेख (२०००–२०१८) अनुसार यो ८२५.२३ मिटर पछाडि हटेको र प्रतिवर्ष ४५.८५ मिटरको दरले पग्लिएको पाइएको छ ।

खतलिङ, मिलम, गंगोत्री, सतोपन्थ, रमाणी र जौन्धार उत्तराखण्डका प्रमुख हिमनदी हुन्, जसको पग्लिने दर निकै तीव्र रहेको छ । तीमध्ये पछिल्ला केही वर्षमा मिलम र खतलिङ हिमनदी सबैभन्दा तीव्र गतिमा पछाडि हटेका छन् ।

यी सबै हिमनदीका ऐतिहासिक अभिलेख अध्ययन गर्दा माटो तथा ढुंगाले ढाकिएका हिमनदी प्रतिवर्ष केही मिटरको दरले पग्लिएको, तर सफा बरफ भएका हिमनदी भने निकै तीव्र गतिमा पग्लिरहेको पाइएको छ ।

हिमनदी यही दरमा पग्लिरहे समुद्री सतह बढ्ने जोखिम अन्ततः उत्पन्न हुन सक्छ । साथै हिमताल विस्फोटजन्य बाढी, हिमपहिरो तथा उच्च हिमाली क्षेत्रबाट माटो, ढुंगा र गेग्रान बग्ने जस्ता प्राकृतिक विपत्तिको जोखिम पनि बढेको छ ।

सन् २००० पछि हिमनदी पग्लिने दरमा तीव्र वृद्धि भएको अध्ययनले देखाएको छ । हिमनदी पग्लिनुको एउटा कारण ४ हजार मिटर उचाइसम्म हुने वर्षा पनि हो । विगतमा ती उचाइमा हिउँ पर्ने गरे पनि अहिले वर्षा हुन थालेको छ । गर्मीयाम पनि लामो हुँदै गएको छ भने हिउँदमा पर्ने हिमपातमा उल्लेख्य कमी आएको छ । अहिले पर्ने हिउँलाई समेत जमेर बलियो तह बन्न पर्याप्त समय नपाउने अवस्था देखिएको छ ।