बिहीबारदेखि भारी वर्षाको सम्भावना, ७४१ मिलिमिटरसम्म पानी पर्ने

बिहीबारदेखि भारी वर्षाको सम्भावना, ७४१ मिलिमिटरसम्म पानी पर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण आगामी ८ देखि १२ असोजसम्म नेपालका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्ले बताएका छन्।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययनका आधारमा उक्त अवधिमा देशका अधिकांश क्षेत्रमा वर्षा हुन सक्ने बताएका हुन्।

केही स्थानमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन उनीहरूले सुझाव दिएका छन्।

उनका अनुसार केही पूर्वानुमान मोडेलले ८–१२ असोजको अवधिमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने देखाएका छन्। केही मोडेलमा निश्चित क्षेत्रमा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने सम्भावना समेत देखिएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

तर यस्तो वर्षा देशभर समान रूपमा हुने नभई केही निश्चित क्षेत्रमा बढी केन्द्रित हुन सक्ने उनको भनाइ छ।

‘धेरैवटा फोरकास्ट मोडेल हेरेर मात्र यो पूर्वानुमान सार्वजनिक गरेको हुँ,’ पोखरेलले लेखेका छन्, ‘डर देखाउन होइन, यो सबै तयारी चाँडो गर्न मद्दत होस् भनेर राखेको हो।’

उनले लेखेका छन् ‘भारतको उत्तरपश्चिमी क्षेत्र (पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीसम्म) मनसुन सकिएसँगै त्यहाँबाट सुख्खा हावा नेपालतर्फ आउने क्रममा छ। उक्त सुख्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको गतिलाई प्रभावित गर्ने भएकाले उक्त प्रणाली नेपालतर्फ सर्न सक्ने र त्यसको प्रभावले नेपालका केही क्षेत्रमा ठूलो वर्षा हुन सक्ने देखिएको छ।’

वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले सम्भावित बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा पूर्वतयारी, सूचना प्रवाह र उद्धार व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने मौसमविद्हरूको सुझाव छ।