राष्ट्रसंघमा भोटेकोशी विपद् केन्द्रित भई सम्बोधन गर्न प्रधानमन्त्रीलाई रास्वपाको निर्देशन

राष्ट्रसंघमा भोटेकोशी विपद् केन्द्रित भई सम्बोधन गर्न प्रधानमन्त्रीलाई रास्वपाको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोशी विपद्सँग जोडिएको विषयमा केन्द्रित भई सम्बोधन गर्न निर्देशन दिएको छ ।

आईतबार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतको टोलीलाई विपद् केन्द्रित हुन नीतिगत निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

रास्वपाले महासभामा नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्न तयारी गर्न निर्देशन दिएको छ ।

बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत, पुन:स्थापना तथा पुनर्निर्माणका कामबारे सरकारमा सहभागी पार्टीका पदाधिकारी तथा सदस्यबाट जानकारी लिएको छ ।

बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा लामो समयदेखि बेपत्ता भई परिवारले आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याउन सरकारको ध्यानाकर्षण गराइएको छ । पीडित परिवारलाई राहत तथा अन्य सुविधा उपलब्ध गराउन पनि बैठकले आग्रह गरेको छ ।

बैठकमा मधेश प्रदेशको संगठनात्मक अवस्था तथा कार्यसम्पादन अडिटसम्बन्धी प्रारम्भिक प्रतिवेदनसमेत प्रस्तुत भएको छ । पार्टीका सहमहामन्त्री तथा मधेश प्रदेश संयोजक हरि ढकालले प्रतिवेदन प्रस्तुत गरेका हुन् । विस्तृत प्रतिवेदन प्राप्त भएपछि आवश्यक रणनीतिक कदम अघि बढाउने निर्णय बैठकले गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिँदै विभिन्न व्यक्तिलाई सदस्यमा मनोनयन गरिएको छ । आयोग सदस्यमा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुंखे र अधिवक्ता श्वेता कुमारीलाई मनोनयन गरिएको छ ।

युवा, खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखमा ज्ञानेन्द्र मल्ललाई मनोनयन गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

बैठकमा नयाँ मनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।