काठमाण्डु – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आईतबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ पर्सि मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् । खनालले समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत छ ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई २४ सेप्टेम्बरमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह २६ सेप्टेम्बर र परराष्ट्रमन्त्री खनाल २९ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम छ ।




प्रतिक्रिया