काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका छन्।
भेटमा कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनका कारण नेपालमा परेको असरका विषयमा तयार पारेको अवधारणा पत्र प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरिएको छ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानुअघि प्रधानमन्त्री शाहलाई सिङ्गो देश, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दल एकजुट रहेको बलियो सन्देश लिएर जान आग्रह गरिएको उपसभापति शर्माले बताए।
भेटका क्रममा भोटेकोशी विपद्लगायत जलवायु परिवर्तनका कारण नेपालमा भएका विपद् र क्षतिलाई आवश्यक प्रमाण, तथ्य र दाबी प्रस्तुत गर्दै अन्तर्राष्ट्रियकरण गर्न प्रधानमन्त्री शाहलाई सुझाव दिइएको शर्माले जानकारी दिए।
नेपालले विश्वको कुल कार्बन उत्सर्जनको १ प्रतिशतभन्दा पनि कम उत्सर्जन गरे पनि जलवायु परिवर्तनका कारण ठूलो विपद् र क्षति बेहोर्नुपरेको विषय संयुक्त राष्ट्रसङ्घको महासभामा उठाउन कांग्रेसले सुझाव दिएको छ।
त्यस्तै, न्यून कार्बन उत्सर्जन गर्ने साना राष्ट्रहरूको नेतृत्व नेपालले लिनुपर्ने तथा सन् २०१५ को पेरिस सम्झौता कार्यान्वयनका लागि ठूला राष्ट्रहरूसँग कूटनीतिक चातुर्यका साथ गहन संवाद गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री शाहलाई दिइएको छ।




प्रतिक्रिया