भोटेकोशी विपद्ले स्थगित गतिविधि पुन: सुचारु गर्ने रास्वपाको निर्णय

भोटेकोशी विपद्ले स्थगित गतिविधि पुन: सुचारु गर्ने रास्वपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी विपद्का कारण स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुन: सुचारु गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको खोजी, उद्धार, राहत वितरण, पुन:स्थापना तथा पुनर्निर्माणका विषयमा सरकारमा सहभागी पार्टीका पदाधिकारी तथा सदस्यबाट जानकारी लिएको छ । बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा लामो समयदेखि बेपत्ता रहेका र परिवारले आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ । पीडित परिवारलाई राहत तथा उपलब्ध सुविधा प्रदान गर्नसमेत बैठकले जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायतको टोलीलाई नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक विषय, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा केन्द्रित रहेर तयारी गर्न पार्टीले नीतिगत निर्देशन दिएको छ ।

बैठकमा मधेश प्रदेशको सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटसम्बन्धी प्रारम्भिक प्रतिवेदन पार्टीका संयोजक तथा सहमहामन्त्री हरि ढकालले प्रस्तुत गरेका थिए । विस्तृत प्रतिवेदन प्राप्त भएपछि आवश्यक थप रणनीतिक कदम अघि बढाउने निर्णय बैठकले गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिने क्रममा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुंखे र अधिवक्ता श्वेता कुमारीलाई आयोगको सदस्यमा नियुक्त गरिएको छ ।

युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखमा ज्ञानेन्द्र मल्ललाई मनोनयन गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजंग कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको रास्वपाले जनाएको छ ।

बैठकमा नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

भोटेकोशी विपद्का कारण राष्ट्रिय शोक तथा राहत कार्यमा केन्द्रित हुनुपर्ने भएकाले स्थगित गरिएका पार्टीका गतिविधि अब तत्काल अघि बढाउने निर्णय भएको छ । रास्वपाले ‘हामी सुन्छौँ’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया तथा अन्य सांगठनिक र जनसम्पर्कका कार्यक्रम पुन: सञ्चालन गर्ने भएको छ ।

बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता तथा आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई विस्तृत जानकारी गराएका थिए । रास्वपाका प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।