न्युयोर्क – संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली सोमबार अमेरिकाको न्युयोर्क शहर पुगेको छ ।
परराष्ट्रमन्त्री खनाललाई न्युयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ बुधबार अमेरिका आउने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् । परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई २४ सेप्टेम्बरमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
यसपटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ । यो पछिल्लो समय प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागिता जनाउन जानेमध्येको कम संख्या पनि हो । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रमसमेत रहेको छ ।
प्रधानमन्त्री शाह २६ सेप्टेम्बरमा काठमाण्डु फर्किने कार्यक्रम रहेको छ भने परराष्ट्रमन्त्री खनाल २९ सेप्टेम्बरमा नेपाल फर्किनेछन् ।




प्रतिक्रिया