काठमाण्डु– संयुक्त राष्ट्रसंघको महासभाको ८१ औँ सत्रको उच्चस्तरीय सप्ताहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह मंगलबार (आज) न्यूयोर्क प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री शाहले बिहीबार महासभाको उच्चस्तरीय सत्रमा सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नेछन्।
राष्ट्रसंघीय महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन्।
परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली विभिन्न उच्चस्तरीय बैठकहरू, साइड इभेन्टहरू र मन्त्रीस्तरीय संलग्नताहरूमा सहभागी हुन आइतबार नै न्यूयोर्क गइसकेको छ। उनले त्यहाँ आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तिहरूसँग द्वपक्षीय भेटवार्ता गर्ने तय भएको छ।
राष्ट्रसंघको महासभामा भाग लिएर प्रधामन्त्री बालेन शुक्रबार नै काठमाण्डु आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खनाल भने सेप्टेम्बर २९ मा नेपाल फर्किनेछन्।




प्रतिक्रिया