किन अमेरिका भ्रमणलाई औपचारिक विदेश भ्रमण बनाउन चाहँदैनन् बालेन ?

किन अमेरिका भ्रमणलाई औपचारिक विदेश भ्रमण बनाउन चाहँदैनन् बालेन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) आफ्नो पहिलो विदेश भ्रमणमा निस्कँदा विगतदेखि चल्दै आएको औपचारिक बिदाई र सलामी लिने परम्परा तोड्ने भएका छन् ।

प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार साँझ न्यूयोर्क प्रस्थान गर्दैछन् ।

यसअघि राष्ट्रप्रमुख र सरकार प्रमुख ओपचारिक भ्रमणमा निस्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा औपचारिक बिदाईको कार्यक्रम हुन्थ्यो ।

यस्तै विमानस्थलबाहिर नेपाली सेनाको टुकडीले सलामी दिने परम्परा थियो । तर, यसपटक त्यस्तो कुनै कार्यक्रम नराखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख, राष्ट्रियसभा अध्यक्ष, कार्यबाहक प्रधानमन्त्री, मन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुख, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायत विमानस्थल जाने परम्परा थियो ।

उक्त परम्परा यसपटक तोडिने भएको प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालले जानकारी दिइन् । कुटनीतिक क्षेत्रका जानकारहरुका अनुसार प्रधानमन्त्रीले यो भ्रमणलाई औपचारिक विदेश भ्रमण नबनाउन चाहेको देखिन्छ ।

प्रधानमन्त्री बालेनले महासभालाई आगामी ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियारलगायत सहभागी छन् ।

मन्त्री खनाल आइतबारै न्यूयोर्क प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री आगामी १० असोजमा स्वदेश फर्कने कार्यतालिका छ ।