काठमाण्डु– त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाएर चालक अर्जुन लामा दोङले आत्मदाह गरेको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आषिका तामाङले ट्राफिक कारबाहीको विद्यमान शैलीमाथि प्रश्न उठाएकी छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै तामाङले ट्राफिक प्रहरीले सडकमा गर्ने कारबाहीलाई प्रमाणमा आधारित र पारदर्शी बनाउन माग गरिन् । त्यसका लागि प्रत्येक ट्राफिक प्रहरीको शरीरमा क्यामेरा जडान गर्नुपर्ने उनको प्रस्ताव छ ।
‘प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्यो । लाइसेन्स र बिलबुक नियन्त्रण गरी सडकमै फैसला गर्नुभन्दा पनि फोटो भिडियोको रेकर्डको आधारमा तथ्यपरक काम कारबाही अघि बढाइयोस्,’ उनले भनिन् ।
ट्राफिक कारबाहीविरुद्ध उजुरी तथा पुनरावेदन गर्ने विद्यमान व्यवस्था पनि सर्वसाधारणका लागि व्यवहारिक नभएको तामाङको भनाइ छ । सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ ले ट्राफिकलगायत अधिकृतबाट भएको निर्णयविरुद्ध यातायात व्यवस्था विभागमा पुनरावेदन गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तो पुनरावेदनका लागि ३५ दिनको हदम्याद भने दफा १७२ मा तोकिएको छ ।
दुर्गम जिल्लाका चालकलाई सामान्य जरिवानाविरुद्ध समेत काठमाण्डु आउनुपर्ने अवस्था न्यायोचित नभएको उनले बताइन् ।
‘दार्चुलाका चालकलाई ट्राफिकको कारबाही चित्त नबुझे उहाँ काठमाण्डु आई डिजी साबलाई उजुरी दिन सक्ने सम्भावना कत्तिको न्यायोचित हो त ? चालकलाई ५ सय रुपैयाँ जरिवाना चित्त बुझेन भनेर ५० हजार खर्च गरी उ काठमाडौं आउन सक्छ त ?’ उनले प्रश्न गरिन् ।
ट्राफिक कारबाहीसम्बन्धी उजुरी र पुनरावेदनको प्रक्रिया अनलाइनबाटै गर्न सकिने बनाउनुपर्ने उनको माग छ ।
‘त्यसैले १७१ दफाको नियम पुरै हावादारी छ । ट्राफिक नियमको कामकारबाही अनलाइनमार्फत सहज बनाउनुपर्यो, होइन भने जनता मार्ने दफा, उपदफा खारेज गरिनुप¥यो,’ तामाङले भनिन् ।
त्रिपुरेश्वरमै यसअघि पार्किङको विषयमा भएको विवादपछि एक युवाले ज्यान गुमाएको र अहिले हर्न बजाएको विषयमा विवादपछि अर्को युवाको मृत्यु भएको उल्लेख गर्दै उनले यस्ता घटनाबाट राज्यले पाठ सिक्नुपर्ने बताइन् ।
‘हिजो पार्किङको नाममा एउटा युवाले जलेर आफ्नो ज्यान गुमाउनुप¥यो भने आज हर्न बजाएको निहुँमा अर्को युवाले,’ उनले भनिन् ।
ट्राफिक प्रहरीको कारबाहीलाई प्रविधिमैत्री र प्रमाणमुखी बनाउन सके प्रहरी र चालकबीच सडकमा हुने विवादको वस्तुगत परीक्षण गर्न सहज हुने उनको भनाइ छ ।




प्रतिक्रिया