काठमाण्डु– सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।
सरकारविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका दाहाललाई रिहा गर्न माग गर्दै उनकी छोरी डेनिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
मोरङको सलकपुरमा आइतबार पक्राउ परेका दाहालमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको म्याद लिएको छ । प्रहरीको साइबर ब्युरोले उनीमाथि अनुसन्धान गर्न अदालतबाट तीन दिनको म्याद लिएको हो ।
दाहाल राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन २ असोजमा कोशी प्रदेशतिर गएका थिए । शनिबारको कार्यक्रम सकेर आइतबार काठमाण्डु फर्किने तयारीमा रहेका उनलाई सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित चिया पसलबाट प्रहरीले पक्राउ गरेको थियो ।
दाहालमाथि अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ले नेपालमा भएको जेनजी आन्दोलनका बारेमा सार्वजनिक गरेको रिपोर्ट सामाजिक सञ्जालमार्फत फैलाएको आरोप छ ।
दाहालले सेप्टेम्बर १२ अर्थात् भदौ २७ गते ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक राखेर ‘ग्रे जोन’ को रिपोर्ट सामाजिक सञ्जालमा सेयर गरेका थिए ।




प्रतिक्रिया